गगनलाई पार्टीभित्रै तगारो

khabarwave
२१ मंसिर २०७९

काठमाडौं । पार्टीभित्र जकडिएर बसेको पुरानो पुस्तालाई पन्छाउन त्यति सहज छैन । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘भावी प्रधानमन्त्री’ घोषणा गरेर मंसिर ४ गतेको चुनावमा होमियो। कुनै नेतालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको नेपालको संसदीय चुनावको इतिहासमा सम्भवतः यो पहिलोपटक थियो। ४ मंसिरमा सम्पन्न आम चुनावको प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ र समानुपातिक प्रणालीको गणना अन्तिम चरणमा पुगेको छ। यतिबेला एमालेले सोचेको जस्तो आफ्नो पक्षमा चुनावी नतिजा आइदिएको भए केही दिनपछि बन्ने नयाँ सरकारको नेतृत्व पक्कै पनि अध्यक्ष ओलीले गर्थे होलान्। ‘भावी प्रधानमन्त्री’ को घोषणा गरेर एमाले चुनावमा जाँदै गर्दा सरकार र पाँचदलीय गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मौन बस्यो। पार्टीका तर्फबाट प्रधानमन्त्री को हुनेबारे कांग्रेसले केही बोलेन। बरू यो पार्टीका नेताहरूले पहिले चुनाव सक्ने अनिमात्रै यस विषयमा सोच्ने बताएका थिए, त्यतिबेला।
कांग्रेसका शीर्ष नेताहरू यहाँसम्म कि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइरालालगायतका नेताहरू चुनावअघि प्रधानमन्त्रीबारे मौन बसिरहँदा एक जना नेता भने यही विषयलाई एजेन्डा बनाएर अघि सारेको थिए। ती नेता हुन्– महामन्त्री गगन थापा। थापाले चुनाव प्रचारप्रसारकै क्रममा भावी प्रधानमन्त्रीको एजेन्डालाई अगाडि बढाएर मतदाताहरूसँग मत मागेका थिए। त्यो एजेन्डालाई काठमाडौं–४ का मतदाताहरूले अनुमोदन पनि ग¥यो, गगनलाई चुनाव जिताएर।
मतगणनाको अन्तिम परिणाम घोषणाभए लगत्तै मतदाताहरूलाई सम्बोधन गर्दै गगनले भनेका थिए,‘आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु, मतदाताले मनको कुरा व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ’ संसदीय चुनाव जितेका गगनको संकेत नयाँ बन्ने सरकारको प्रधानमन्त्रीतर्फ थियो। देश हाक्ने नयाँ चालक खोज्नेतर्फ उनले इशारा गरेका थिए। गगनले भनेका थिए,‘नयाँ चालक कांग्रेसभित्रै छन्। यो बहस पार्टीभित्र पनि भइसकेको छ। कांग्रेसले नयाँ नेतृत्व दिन जरूरी छ। देशभरबाटै यो विचार व्यक्त भएको छ।’ चुनावमा अघि बढाएको एजेन्डाअनुसार कांग्रेस महामन्त्री गगन अब बन्ने सरकारको नेतृत्व गर्ने कसरतमा छन्। प्रधानमन्त्री बन्न चाहिरहेका छन्, उनी। यसका लागि थापालाई पहिले पार्टी संसदीय दलको नेता बन्नुपर्ने हुन्छ। र, दलको नेता बन्नकै लागि उनले पार्टीभित्रै तगाराहरूको चुनौतीको सामना गर्नुपर्ने देखिएको छ।
प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएर समानुपातिक प्रणालीको गणना अन्तिम चरणमा पुगेको छ। यो नतिजाअनुसार प्रत्यक्षतर्फ ५७ सिट जितेर सबैभन्दा ठूलो दल बन्ने पक्का गरिसकेको कांग्रेस नयाँ बन्ने सरकारको नेतृत्व गर्न चाहिरहेको छ। सरकार गठनका लागि बहुमत पु¥याउन गठबन्धनका घटक दलहरूका साथै अरू दलसँग पनि कांग्रेस निरन्तर संवादमा छ। अपुग हुने केही सिटका लागि अरू दलबाट सहयोग लिने प्रयासमा कांग्रेस देखिएको छ। संसदको ठूलो दलका साथै गठबन्धनकै सरकार बन्ने करिबकरिब निश्चित देखिएपछि कांग्रेसका प्रधानमन्त्रीका आकांक्षीहरूले पार्टीभित्रको बहुमतका लागि पनि सक्रियता बढाएका छन्।
प्रधानमन्त्री बन्न संसदीय दलको नेतामा चुनिनुपर्ने ‘बाध्यात्मक’ स्थितिका लागि उनीहरूले भेटघाट र संवादलाई तिब्रता दिएका छन्। महामन्त्री थापाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल खुलेरै यो लाइनमा उभिएका छन्। यस्तै पूर्वमहामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने आफ्नो चाहना प्रकट गरिसकेका छन्। १४ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित भएका शेखर कोइराला अहिलेसम्म सार्वजनिक रूपमा प्रधानमन्त्रीबारे केही बोलेका छैनन्। औपचारिक रूपमा नबोले पनि कोइरालाले पनि आन्तरिक तयारी थालेका छन्।
बरू वर्तमान सरकारको नेतृत्व गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा हालसम्म मौन छन्। संसदीय दलको नेता बन्नबारे आफूले सार्वजनिक रूपमा केही बोलेका छैनन्। तर, उनी निकटस्थ नेताहरू भने प्रधानमन्त्री बन्ने देउवाको चाहनालाई बाहिर ल्याएका छन्। यहाँ सम्म कि उनीहरू देउवालाई संसदीय दलको नेता बनाउन आन्तरिक ढंगबाट ‘लबिङ’ समेत सुरू गरिसकेका छन्।
देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्नेगरी आफ्ना विश्वासपात्रहरूलाई सक्रिय बनाएका छन्। उनले प्रवक्ता प्रकाशशरण महत, उपसभापति पूर्णबहादुर खड्कालगायतलाई इतर समूह र गठबन्धनका घटक दलका नेतासँग छलफलमा खटाएका छन्। कांग्रेसका कतिपय नेताहरूले संसदीय दलभित्र बहुमत भएकाले देउवाको विकल्प खोज्न नहुने तर्क गरिरहेका छन्। कांग्रेसमा टिकट सभापति देउवाले वितरण गरेकोले दलको नेतामा उनको विकल्प नभएको उनीहरूको भनाइ छ। तर, पार्टीभित्र पुस्तान्तरणको मुद्दा जोडदार रूपमा उठाउँदै आएका महामन्त्री थापाले यसपटक संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा गर्ने निश्चित छ। देउवालगायतका शीर्ष नेताहरूले अभिभावकीय भूमिका निर्वाह गरेर आफूजस्ता युवालाई नेतृत्वको लागि प्रोत्साहन गर्नुपर्नेमा थापाको जोड छ। यहाँसम्म कि थापा संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गरे आफू प्रस्तावक बन्ने अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रूपमै घोषणा गरिसकेका छन्।

सजिलो छैन यात्रा
प्रत्यक्षतर्फ कांग्रेसले ५७ सिट जितेको छ। समानुपातिकतर्फ प्राप्त गरेको मतको आधारमा उसले कम्तिमा ३२ सिट पाउने निश्चित छ। दुवै जोड्दा कांग्रेससँग ८९ सांसद हुनेछन्। संसदीय दलको नेता चयन गर्न चुनावमै जाने परिस्थिति बन्दा निर्वाचित हुन कम्तिमा ४५ सांसदको मत चाहिन्छ। संस्थापन समूह एकै ठाउँमा उभिएका बेला इतर समूह तितर–बितर भएकाले दलको नेता बन्न महामन्त्री थापालाई यो संख्या कटाउन चुनौती देखिन्छ। संस्थापन समूहबाट संसदीय दलको नेताका लागि देउवामात्र दाबेदार हुँदा यो समूहबाट महामन्त्री थापाका साथै नेता कोइरालाले पनि चाहना व्यक्त गरिरहेका छन्।
कांग्रेसकै नेतृत्वमा सरकार बन्ने लगभग निश्चित भएपछि कोइरालाले पनि संवाद र छलफललाई अघि बढाएका छन्। ‘आवश्यक परामर्श र छलफलमा हुनुहुन्छ। सबैसँग सुझाव लिने काम भइरहेको छ,’ कोइरालानिकट एक नेताले भने,‘सुझावका आधारमा उहाँले आफ्नो निर्णय सार्वजनिक गर्नुहुन्छ।’ केही दिनअघि विराटनगरमा पत्रकारहरूसँग कोइरालाले संसदीय दलको नेता बन्ने विषयमा सभापति, वरिष्ठ नेतालगायतका नेताहरूसँग छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए। ‘प्रधानमन्त्री हुने चाहना भएरमात्र हुने होइन। यो सिस्टममा नम्बरको पनि गेम हुन्छ भन्ने बुझ्न आवश्यक छ,’ उनले भनेका थिए,‘नम्बर गेममा जो अघि हुन्छ ऊ नै संसदीय दलको नेता चुनिन्छ। त्यसपछि मात्र प्रधानमन्त्री बन्ने विषयले प्रवेश पाउँछ।’ विराटनगरबाट काठमाडौं फर्किएका नेता कोइरालाले यसबीचमा प्रधानमन्त्रीका आकांक्षी महामन्त्री थापासँग भेटवार्ता गरेका छन्। कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा थप छलफल गरेर मिलेर जाने सहमति बनेको बताइएको छ।
यस्तै कांग्रेस प्रवक्ता महतले पनि कोइरालालाई भेटेका छन्। विशालनगरस्थित कोइरालाको सचिवालयमा पुगेर महतले देउवालाई समर्थनको सन्देशसहित बधाइ दिएका छन्। महतले कोइरालालाई निर्वाचित भएकोमा शुभकामना दिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। अर्का आकांक्षी वरिष्ठ नेता पौडेलले पनि पार्टी र गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। पूर्वमहामन्त्री शशांकले पनि प्रधानमन्त्रीमा दाबी गरेर आन्तरिक तयारीमा जुटेका छन्। मंगलबार उनले सभापति देउवालाई भेटेका छन्। चुनावपछि भएको पहिलो भेटमा देउवाले संसदीय दलको नेतामा समर्थन गर्न उनलाई आग्रह गरे। आफैं संसदीय दलको नेता बन्ने प्रयासमा रहेको शशांकले ‘फेरि भेटेर कुरा गरौंला’ भन्दै बालुवाटारबाट बाहिरिएका थिए। नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीका लागि दाबी गरे पनि तयारीमा भने खासै सक्रिय देखिएका छैनन्। एउटै समूहबाट धेरैले गरिरहेको दाबीमा अन्त्यसम्म कायमै रहे देउवालाई संसदीय दलको नेतामा निर्वाचित हुन सहज हुने देखिन्छ।

नम्बर महत्वपूर्ण
नेता कोइरालाले भनेजस्तै दलको नेतामा चयन हुन ‘नम्बर गेम’ महत्वपूर्ण हुनेछ। र, यसको तयारी सभापति देउवाले चुनावअघि टिकट वितरणमै गरिसकेका थिए। इतरसमूह आफूमाथि हावी हुन नसक्ने गरी उनले सन्तुलन मिलाएका छन्। संस्थापन पक्षबाट ५० जानले उम्मेदवारी दिँदा २९ जनाले जितेका छन्। शेखर–गगन समूहबाट २२ जनाले उम्मेदवारी दिँदा १८, पौडेल–शशांक समूहबाट ६ र प्रकाशमान समूहबाट ४ जनाले चुनाव जितेका छन्। समानुपातिक प्रणालीबाट निर्वाचित हुने ३२ मध्ये बढी सांसदहरू संस्थापननिकटबाटै हुने सम्भावनालाई नकार्न सकिँदैन। यो हिसाबले हेर्दा संसदीय दलको नेतामा निर्वाचित हुन देउवालाई त्यति धेरै सकस देखिँदैन। तर, तितर–बितर अवस्थामा रहेको इतर समूह एकै ठाउँमा उभिँदा देउवालाई ‘टक्कर’ दिनसक्ने छन्। रामचन्द्र–शशांक, शेखर–गगन र प्रकाशमान–विश्वप्रकाश समूह एकजुट भएर सर्वसम्मत रूपमा एकजनालाई दलको नेतामा अघि सार्दा देउवा कमजोर हुनसक्छन्।

Loading spinner