कोरोना संक्रमण परीक्षणको शुल्कमा भारी कटाैती,उपत्यकामा कोरोना संक्रमित संख्या दिनहुँ बढ्दै

khabarwave
२८ भाद्र २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन् ।पछिल्लो दिनमा उपत्यकामा संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ ।यस्तै बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

Loading spinner