कुलमानको पार्टीमा सुदनका कार्यकर्ता

khabarwave
२६ कार्तिक २०८२

काठमाडौं । वर्तमान मन्त्री कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । अब उनले औपचारिक रुपमा दल दर्ता गर्दै अघि बढ्ने निधो गरेका छन् । उनको दलमा सुदन गुरुङको ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकसहितका जेनजी अगुवा सहभागी भएका छन्। बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का उक्त दलमा संलग्न भएका हुन्। अन्य केही अगुवा पनि सो पार्टीमा जाने उनीहरूको भनाइ छ। उनीहरूलाई केन्द्रीय सदस्य बनाइने छ। कुलमानले उज्यालो नेपाल नामक दल दर्ताका लागि निवेदन दिने अन्तिम तयारी गरेका छन्। उनीहरूले चुनाव चिह्नमा बिजुलीको चिम माग्ने भएका छन्। यद्यपि, हाललाई यो पार्टीको संयोजकमा पूर्वसचिव अनुपकुमार उपाध्यायको नाम हुनेछ। कुलमान चुनावको मुखमा मात्रै मन्त्रीबाट राजीनामा दिएर पार्टी नेतृत्वमा आउने छन्। कुलमानको पार्टीलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र सुदन गुरुङको समर्थन रहने चर्चा छ। यद्यपि, सुदन आफैँ नभई उनीनिकट जेनजी युवा यो दलमा आबद्ध हुने भएका छन्। कुलमानले तीन वटा मन्त्रालयको भार बेहोरिरहेको हुनाले उनले तत्काल पार्टीको नेतृत्व नसम्हाल्ने यादवको भनाइ छ। ६ प्रदेशका संयोजकहरू संलग्न भए पनि कोसी प्रदेशका संयोजक उपार्जुन चाम्लिङ भने हालसम्म उक्त दलमा जोडिएका छैनन्। आत्माले नमानेकाले आफू नगएको उनको भनाइ छ। तर, गण्डकी प्रदेशका प्रदेश संयोजक प्रदीप पाण्डेले मंगलबार उपार्जुन पनि आउने बताए। आफूहरू कुलमान घिसिङसँग धेरै पटक छलफलमा बसेको र हरेक पटक आफूहरूले दल जेनजीको स्पिरिटभन्दा बाहिर नजाओस् भन्ने कुरा राखेको पाण्डेले बताए। केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन भइसकेको छ। यो दल ‘सेन्टर टु लेफ्ट’ हुने उपार्जुनको भनाइ छ। रास्वपामा मिसिने प्रयास असफल भएपछि कुलमानले अलग पार्टी गठन गर्न लागेका हुन्। अन्तिम समयमा आएर पार्टी नाममा विचार नमिल्दा सुमना श्रेष्ठ पनि कुलमानबाट अलग भएकी छन्।

Loading spinner