काठमाडौंको वायु प्रदूषण विश्वमै अग्रस्थानमा,जनस्वास्थ्य संकटकाल लगाउन बिज्ञहरूकाे सुझाब

khabarwave
२१ पुष २०७७

काठमाडौं ।  काठमाडौंको वायु प्रदूषण सोमबार विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७.४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ ।सोमबार दिनभरि काठमाण्डौं उपत्यकामा घाम लागेन । कतिपयले सडकमा हिँड्दा आँखा पिरो(पिरो भएको अनुभव गरे । खासगरी साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको गुनासो गरेका थिए ।

काठमाडौं नम्बर १ मा पुगेको मात्रै होइन, दोस्रो र तेस्रो स्थानको भन्दा झण्डै दोब्बर पुगेको थियो । त्यतिबेला दोस्रो स्थानमा रहेको कीर्गिस्तानको भिश्केकको २९६ र तेस्रो स्थानको भियतनामको हनौईमा २४१ एक्युआई थियो ।खतरा जनाउने सूचक रंग पनि काठमाडौंको खैरो छ । रातो र वैजनी भन्दा खैरो रंगले बढी जोखिम संकेत गर्ने जानकारहरू बताउँछन् ।

गत वर्ष दिल्ली सरकारले भारतमा ५० लाख मास्क वितरण गर्‍यो । ती मास्क नोवेल कोरोना भाइरस कोभिडबाट जोगिन नभई वायु प्रदुषणबाट आफ्ना जनतालाई बचाउनका लागि थियो । अत्याधिक वायु प्रदूषण भएपछि दिल्ली सरकारले जनस्वास्थ्य संकटकाल (पब्लिक हेल्थ इमरजेन्सी) नै घोषणा गरेकाे थियाे ।नेपाल सरकारले पनि काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदुषण आपत्काल सम्बन्धी व्यवस्था गरेपनि कार्यान्यन गरेकाे छैन ।मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्युआई नाघेपछि विपदकाल घोषणा गर्ने भनेकाे छ ।

 

Loading spinner