कांग्रेसमा फुट्ने कल्पना नगरे हुन्छ

khabarwave
१७ कार्तिक २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ कल्पना नगर्न आग्रह गरेका छन्। पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेका बेला शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै महामन्त्री शर्माले फरक मत र विचारकै कारण पार्टी नफुट्ने बताएका हुन्। सबैलाई एकतावद्ध गर्नु छ। फरक फरक विचारहरु छन। सबैलाई एक ठाउँमा राख्नु छ। मन्थन गर्नुछ। त्यसले गर्दा समय लागेको कुरा भन्दा पनि समयोचित निर्णय गर्ने कुराका लागि समय लगाएका हौ। कांग्रेस फुटछ भनेर कसैले कल्पना नगरे हुन्छ। नेपाली कांग्रेस भित्र फरक फरक मतहरु विगतमा पनि थिए। अहिले पनि छन। भविष्यमा पनि रहन्छन, उनले भने। उनले महाधिवेशन निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवादको टुंगो लगाउन महासमिति सदस्यहरुको सुझावलाई निर्णयको आधार बनाउन सकिने पनि बताए। महाधिवेशन प्रतिनिधि वा केन्द्रिय समितिको सुझावलाई नमान्ने हो भने महासमितीको सुझावको आधारमा महाधिवेशनको मितिबारे टुंगो लगाउन उपयुक्त हुने उनको भनाइ थियो। मंसिरमा महाधिवेशन गर्नका लागि ढिला हुन लागेकाले पदाधिकारी बैठकमा आफूले महाधिवेशनबारे विभिन्न विकल्पहरू राखेको पनि उनले बताए। चार वटा विकल्प छन्। मंसिरमा नै महामन्त्री गगन थापाले राखेको प्रस्ताव अनुसार जाऔं, त्यो पनि ठिक छ। हुन्न भने विशेष अधिवेशन दुई वटा तरिकाले गर्ने। एउटा केन्द्रीय समितिले बोलाउने। अर्को महाधिवेशन प्रतिनिधिहरुको ४० प्रतिशत मतको आधारमा गर्ने। त्यो पनि नभए पुसको १६, १७, १८, १९ विपी कोइरालाले मेलमिलापको नीति लिएर आएको जुन समय हो। जुन दिन हो। त्यही ऐतिहासिक दिनको दिन गरौ भने, उनले भने। उनले भोलिदेखि बैठक बस्ने कुरामा सहमतिपूर्वक प्रस्ताव लिएर जानुपर्ने बताए। मंसिर वा वैशाख कहिले गर्ने भनेर सहमतिपूर्वक प्रस्ताव लिएर जाउ। तर महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन। त्यसलाई केन्द्रमा राखेर जाऔं। त्यो गर्न सकिएन भने केन्द्रीय समितिको बहुमत आफ्नो ठाउँमा छ। महाधिवेशन प्रतिनिधिको बहुमत आफ्नो ठाउँमा छ। दुवै यो ठाउँमा समाउने भन्दा मध्यमार्गीबाट यी दुवै भन्दा माथि महासमिति छ। डिजिटल भोटिङ सिष्टमबाट जान सकिन्छ। महासमितिमा युरोप अमेरिकादेखि खाडी मुलुकसम्म रहेका ताप्लेजुङदेखि दार्चुलासम्म रहेका, मुस्ताङदेखि महोत्तरीसम्म रहेका साथीहरुको भावनालाई डिजिटल प्रक्रियाबाट पुसको १६, १७ तिर गर्ने कि बैशाखमा पुर्‍याउने भनेर हामीले राय लिन सक्छौं। यो कुरा मैले आजको बैठकमा पनि भनेको छु, पत्रकारहरूसँग महामन्त्री शर्माले भने।

Loading spinner