कमजोर राजनीतिक नेतृत्त्व र यसका परिणाम
देश र जनताको विकासका लागि राजनीतिक व्यवस्थाको छनौट गरिन्छ। राजनीतिक व्यवस्था कस्तो राख्ने भन्ने अठोट जनताले गर्छन्। जनताले आफ्नो यो अभिमत आफूले चुनेका प्रतिनिधि मार्फत गर्छन्। हामीले पनि संविधान सभा मार्फत हाम्रो राजनीतिक ब्यबस्था अर्थात हाम्रो राजनीतिक गन्तब्य तय गरेका छौ र त्यो गन्तब्य समाजवाद उन्मुख भनेर संविधानमा उल्लेख गरेका छौ। यो गन्तब्यमा पुग्नका लागि हामीले लोकतान्त्रिक गणतन्त्रतात्मक संसदीय शासन ब्यबस्था अपनाएका छौ। हाम्रो राजनीतिक गन्तब्यलाई समाजवाद उन्मुख भनिएको छ।
यो गन्तब्य यस्तो छ कि जसको कुनै स्पस्टता छैन र यसको नामाकरण राजनीतिक नारामा सीमित छ यसमा ब्यबहारिक पक्ष पाईदैन। कसैको हावादारी राजनीतिक लक्षमा आधारित यो गन्तब्य जनताको आंखामा छारो हाल्न मात्र सीमित भएको पाईन्छ। आखा नदेख्नेले हात्तीको परिभाषा दिए जस्तो यो राजनीतिक गन्तब्यलाई हाम्रा नेताले अर्थ्याउने गर्छन्। समाजवाद हुदै साम्यवादमा जान चाहने राजनीतिक दलहरू र प्रजातान्त्रिक समाजवादमा सीमित रहने राजनीतिक दलको समझदारीमा यो राजनीतिक लक्ष तय गरिएको हो।
राज्यको मात्र भूमिकालाई मान्यता दिने र बहुलबाद तथा बहुदलीयतालाई नस्वीकारी केन्द्रीयताको अवधारणाबाट राज्य चलाउने सोच राखेको राजनीतिक दलहरू संग यसको विपरीत निजी र सरकारी दुबै भूमिकाको माध्यमबाट बहुदलीयता सहितको बहुलवाद र विकेन्द्रित शासन प्रणालीलाई आदर्श मान्ने दलहरूको साझा दस्तावेज मानिएको हाम्रो संविधानमा उल्लेखित राजनीतिक लक्ष अलमलमा रहेको पाईन्छ। पूरा हुन नसक्ने यस्तो अस्पष्ट राजनीतिक लक्षको माध्यमको रूपमा अपनाईएको राजनीतिक ब्यबस्था भने हाल विश्वमा चर्चा पाएको र देश र जनताको विकासमा अग्रपंक्तिमा रहेको संयदीय ब्यबस्था हो। तर यसमा चुनिने प्रतिनिधिको छनौट र यसका नेता भनाउदाको अनुहार हेर्दा साह्रै टिठ लाग्दो पाईन्छ। यिनीहरूको लक्ष्यमा राजनीतिक उद्देश्य र माध्यम भन्दा आफ्नो सत्ता र पद पर्ने गरेको छ।
संविधान त एउटा साक्षी भएर यिनीहरूको कर्तूतको मूक दर्शक भएको छ। संविधानलाई साक्षी राखेर देशको साधन र श्रोत लुट्न उद्दत हाम्रा नेताहरू कुन दिन श्रीलंकाको अपदस्थ राष्ट्रपति गोटावाया राजापक्षको कोटीमा पुग्छन् भन्न सकिने अवस्था छैन। संसदीय ब्यबस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्ने दर्शनबाट प्रेरित केही राजनीतिक दलहरू र यसका नेता समेत यस मै झुम्मिएर देश लुट्न मरिहत्ते गर्दैछन् ।
हरेक ५ वर्षमा हुने निर्वाचनमा चुनिएर जाने जनप्रतिनिधि छान्ने अधिकार यी नै दलहरूलाई छ र यिनीहरूले मतदाता सम्म पुर्याउने उम्मेद्वारहरूमा पनि यिनीहरूको जस्तै ईमान्दारिता, त्याग र नैतिकताको खडेरी परेको पाईन्छ। हामी मतदाताहरू पनि अचम्मका छौ। किन कि हामीहरू मध्ये अधिकांश स्वतन्त्र र निष्पक्ष नभएर कुनै न कुनै पार्टी संग आबद्ध हुन पुगेका छौ। कुन मास बेस्ड ( Mass Based ) हौ त कुन क्याडर्ड बेस्ड (Cadered Based )हौ छुट्टिन गाह्रो परेको अवस्थामा छौ अर्थात हामीले हाम्रो आफ्नै मताधिकारको स्वतन्त्रता हामी स्वयंले गुमाई सकेका छौ। पार्टीले जसलाई उम्मेद्वारको रूपमा पस्क्यो उसैलाई मतदान गर्न बाध्य छौ।
तर यसरी मतदान गर्नु मतदाताको आफ्नो धर्म हो किनभने हामी बहुदलीय प्रतिस्पर्धामा छौ। यहा गल्ती कमजोरी भएको छ भने त्यो कमजोरी उम्मेद्वारको छनौट गर्ने दल र यसका नेताको छ। दल आफैले कमी कमजोरी गर्न सक्दैन तर यो कमी कमजोरी त्यसको हो जसले पार्टीको डाडु , पन्यू आफ्नो हातमा राखेको हुन्छ। यसरी पार्टी भित्रका ईमान्दार र जनतामा भिजेका कार्यकर्तालाई पाखा लगाएर आफ्ना आसेपासे र नातागोतालाई टिकट बांडेको हुदा बिचरा मतदाता त्यस्तैलाई मतदान गर्न वाध्य हुन्छन्।
अनि यिनीहरू नै नीति निर्माण र विधि निर्माणको ठांऊमा पुग्छन्। हाम्रो देशमा भएको त्यही हो। यसरी चुनिएर गएकाहरूले आफ्नो, आफ्ना आसेपासेको भलो गर्ने बाहेक देश र जनताको हितमा केही काम नगरी जनताबाट उठेको करको दुरूपयोग गरेर बस्छन्। एक त हाम्रो राजनीतिक गन्तब्य नै हांस न बकुल्लाको स्थितिमा छ भने यसमा रमाउने राजनीतिक दलका नेता भनाउदाहरूमा देश र जनताको चिन्ता छैन, हरेक चुनाव कसरी जित्ने भन्ने मात्र चिन्ता छ। राज्यको ढुकुटी कसरी आफ्नो हितमा लगाउने भन्ने चिन्ता छ। यस्तो स्थितिमा यी नेताको बिकल्प खोजेर कर्मठ र ईमान्दारलाई जिताएर पठाउन सके मात्र देश ऊभो लाग्न सक्छ, अन्यथा सार्क देश भित्र भू-परिवेष्ठित दोश्रो श्रीलंकाको स्थान नेपालले लिने कुरामा शंका छैन।