ओली फेरि एकलौटी ढंगले अघि बढ्दै , संवैधानिक परिषदको बैठक डाँकेपछि नेकपामा थप कलह,सभामुख उपस्थिति नहुने

khabarwave
३० मंसिर २०७७

काठमाडौं । सत्तारुढ दल (नेकपा) मा प्रधानमन्त्री केपी ओली फेरि एकलौटी ढंगले अघि बढ्न लागेका छन् ।  ओलीले रिक्त संवैधानिक निकायहरूमा पदपूर्ति गर्न मंगलबार बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन् । नेकपाभित्रको आन्तरिक संकट समाधानमा सहमति खोज्ने प्रयास भइरहेका बेला पार्टीमा छलफल नै नगरी ओलीले ठुलो संख्यामा नियुक्ति गर्ने तयारी गरेपछि नेकपामा पुन असन्तुष्टि बढ्ने निश्चित भएको छ ।ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै छलफल नै नगरी संवैधानिक परिषदको बैठक बोलाएर नियुक्तिको तयारीले नेकपाभित्रको विवाद थप चर्किने पार्टी नेताहरुले नै बताएका छन् । यसअघि आइतबारका लागि बोलाएको बैठकमा गणपुरक संख्या नपुगेपछि परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले  बैैठक  बिहान ९ बजेका लागि बोलाएका छन ।

यसअघि नेकपाको भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले सरकारले राष्ट्रिय तथा दीर्घकालीन महत्त्वका निर्णय र नियुक्ति गर्दा कार्यकारी अध्यक्ष प्रचण्डसँग र आवश्यकताअनुसार पार्टीभित्र समेत छलफल गर्ने निर्णय गरेको थियो ।

नेकपा विवादमा सहमति खोज्ने उदेश्यले ओलीकै आग्रहमा कहिले १० दिन त कहिले ३ दिन बैठक स्थगित गरिरहेको अवस्थामा राष्ट्यि महत्त्व राख्ने नियुक्तिहरुका सवालमा भने ओली एक्लै अघि बढ्न खोजेकाले नेकपाभित्र अर्को गम्भीर संकट पैदा हुने खतरा बढेको छ ।

 

संविधानअनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधानन्यायाधीश,सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक परिषद्को व्यवस्था छ । तर हाल उपसभामुख पद भने रिक्त छ ।लामो समयदेखि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षसहित चार आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित २ आयुक्त, निर्वाचन आयोगमा दुई आयुक्त खाली छन् । त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्षसहित चार आयुक्त तथा समावेशी आयोगमा अध्यक्षसहित तीन आयुक्त रिक्त छन् ।

त्यसैगरी आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित चार आयुक्त, मधेसी, थारू, मुस्लिम आयोगमा चार–चार सदस्य पद रिक्त छन् । यी आयोगहरुमा प्रधानमन्त्री ओलीले केही पद काँग्रेसलाई दिएर अन्यमा आफु निकटकालाई नियुक्ति गर्ने तयारी गरेका छन् ।

Loading spinner