एकताको विपक्षमा झलनाथ खनाल

khabarwave
१२ कार्तिक २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा शरीरमा आगो लागेकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका निम्ति डेढ महिनादेखि दिल्लीमा रहँदै आएका पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सोमबार बेलुकी काठमाडौं फर्किएका छन् । बुधवारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकमा भाग लिन खनाल काठमाडौं आएको र बैठकलगत्तै दिल्ली नै फर्किने उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । पार्टीको बैठकका निम्ति आएको र आफूले राख्ने कुरा पार्टी बैठकबाहेक अन्य माध्यमबाट नराख्ने खनालको अडान छ । माओवादी केन्द्रसँग हुनै लागेको भनिएको एकताका बारेमा उनको प्रतिक्रियाका निम्ति नेपाल प्रेसले सम्पर्क गर्दा स्वकीय सचिव भट्टराईले त्यस्तो कुरा बताएका हुन् । नेकपा एसले बुधवारदेखि शुक्रवारसम्म सुकेधारास्थित मिराकल पार्टी भेन्युमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । उक्त बैठकमा नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपासहितका वामपन्थी घटकबीच गर्ने एकताबारे विमर्श गरिने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल समूहको अग्रसरतामा हुन लागेको भनिएको एकताको औचित्य र सान्दर्भिकतामाथि पार्टीका नेताहरूले प्रश्न उठाउँदै आएका छन् । सम्मानित नेता खनालले दिल्लीबाटै विज्ञप्ति जारी गरेर एकतामा नजाने अभिव्यक्ति दिइसकेका छन् । महासचिव घनश्याम भुसालले एकता ‘किन र केका लागि ?’ भन्ने प्रश्न उठाउँदै आफ्नो अनिच्छा व्यक्त गरिसकेका छन् । तर, ती दुईसहित सबै नेतालाई एकतामा जाने गरी ‘मिलाइएको’ भन्ने दाबी नेपाल पक्षले गर्दै आएको छ । खनालको स्वकीय सचिव भट्टराईका अनुसार अहिले पनि उनी माओवादी केन्द्रसहितका वामपन्थीबीच एकता गर्नुपर्छ भन्ने मान्यताको विपक्षमै छन् । ‘अरू एकता भनेर गएछन् भने पनि उहाँहरू नेकपा एस नै चलाएर बस्ने भन्नुभएको छ, त्यही कुरा औपचारिक रूपमा दर्ज गर्न बैठकका निम्ति आउनुभएको हो’, उनले भने ।

Loading spinner