आसन्न निर्वाचनबाट के अपेक्षा गर्न सकिन्छ ?
बहुदलीय प्रजातन्त्रको मुटु भनेको आवधिक निर्वाचन हो। यसरी हुने निर्वाचनले मुलुकको शासन ब्यबस्थालाई परिष्कृत गर्न र देश र जनताका आवश्यकतालाई सम्वोधन गर्छ भन्ने मान्यता राखिन्छ। नेपालको करीव ६ दशकको निर्वाचनको ईतिहांस हेर्दा उम्मेद्वारी मनोनयनमा ईमान्दारिताको क्रमशः खडेरी पर्दै आएको पाईन्छ। झन् पछिल्ला दिनहरूमा राजनीतिक दलहरूमा आएको शक्ति क्षयीकरणको प्रत्यक्ष अशर निर्वाचनमा उम्मेद्वारीको चयनमा देखिएको छ।
यो प्रवृत्तिले निर्वाचनमा ईमान्दार र त्यागी कार्यकर्ताहरू ओझेलमा पर्ने गरेका छन्। हाल आएर राजनीतिक नेताहरूमा सत्ता र कुर्सीमोहको प्रभाव अत्यधिक देखिएको छ र यसमा परिवारवादले उग्र रूप लिएको पाईएको छ। जसरी पनि सत्तामा जानै पर्ने र लामो समय सम्म सत्तामा टांसिई रहने प्रवृत्तिले चुनाव सोचे भन्दा बढी खर्चिलो हुदै गएको पाईन्छ। राजनीतिको योग्यता अपराधिक कार्य र सो वापत जेल बसेको अवधीलाई लिने गरिएको छ। शैक्षिक योग्यता, ईमान्दारिता, जन सेवाहरू छांयामा परेका छन्। ढुंगामुडा, तोडफोड, हत्या, हिंसाको जगमा उभिएको राजनीति र यसका नेताहरूबाट देश र जनताको विकासको अपेक्षा गर्नु आकाशको फल भएको छ।
अहिलेको चुनाव त यति कमजोर हुदै गएछ कि कुनै पनि राजनीतिक दल स्वतन्त्र रूपमा मतदाता समक्ष जान समेत नसक्ने अवस्थामा पुगेका छन्। किनभने यिनीहरूले जनता र देशको चाहनालाई कतै सम्बोधन गर्न सकेनन्। घर दैलोमा सेवा पाउने अपेक्षा गरिएको संघीयता र यसका प्रतिनिधिहरूले आफ्ना दिवंगत पितृको नाममा अक्षयकोष स्थापना गर्ने, आफू निवृत्त भए पछि पनि सुविधा पाउने ब्यबस्था गर्ने, जनता पिउने पानी नपाएर छट्पटाई रहेको स्थितिमा डाडाकांडामा टावर बनाउने, झोलुंगे पुल चाहिने ठांऊमा मोटरेवल पुल बनाएर जनताले गास काटेर बुझाएको राजस्वको दुरूपयोग गर्ने प्रवृत्तिले बढोत्तरी पाएको छ।
देश र जनतालाई चाहिने भन्दा बढी कार्यकर्तालाई जन प्रतिनिधिको रूपमा पाल्नु पर्ने अवस्था एकातिर छ भने जनताको टाउकोमा अनावश्यक ऋण थोपरेर जनताले केही राहत नपाईरहेको स्थिति छ। यस्तो परिस्थितिमा निकट भविष्यमा हुन गै रहेको प्रदेश र संघको निर्वाचनले समेत जनताहरू ढुक्क हुन नसकिरहेको अवस्था छ। राजनीतिक दलहरूले उम्मेद्वारको छनौट गर्दा स्थानीय तहका कार्यकर्ताको सिफारिसको आधारमा गर्नु पर्ने हो।यसरी छनौट गर्न सकेमा ईमान्दार र त्यागी कार्यकर्ताले स्थान पाउने मात्र हैन कि निर्वाचनमा हुने खर्च समेत नियन्त्रण गर्न सकिन्छ।
तर नेपालका राजनीतिक दल र यसका नेताहरू यस्तो परिपाटीमा अभ्यस्त भएको पाईदैन। यसको सट्टा उनीहरूले यस्ता उम्मेद्वारको सूची आफ्नो पकेटबाट निकाल्ने चलन बनाएका छन्। के प्रजातान्त्रिक दल के गैर प्रजातान्त्रिक दल सबैले उम्मेद्वारको छनौट गर्दा को आफ्नो नजिकको छ, कसले चन्दा, उपहार र चाकडी गर्छ उसैलाई उम्मेद्वार दिने चलन रहेको पाईन्छ। यस्तो परिस्थितिमा छानिने र चुनिने उम्मेद्वारहरू सही रूपमा जनप्रतिनिधि हुन सक्दैनन्। यिनीहरूले जनताको सेवा गर्नुको सट्टा कुमारले शिव पार्वतीको परिक्रमा गरे जस्तै नेताको परिक्रमामा समय बिताउछन् र अर्को निर्वाचनको लागि आफ्नो स्थान सुरक्षित गर्ने कोशिश गर्छन्।
यिनीहरूले जनताको मन जित्न नसक्ने हुदा चुनावमा मनी र मसल खर्च गरेर निर्वाचनको दुरूपयोग गर्छन्। फेरि हाम्रा नेताहरू पार्टीमा रहेका युवाहरूलाई देश निर्माणमा लगाउनुको सट्टा पदीय जिम्मेवारीलाई आर्य घाट संगै लग्न खोज्छन्। निर्वाचनमा जनताले मत दिदैनन् कि भन्ने डरले होला यस पटकको स्थानीय तहको निर्वाचन संगै चुनावी तालमेलको प्रसंगले चर्चा पाउदै छ। आफ्ना पार्टीका त्यागी कार्यकर्तालाई कारवाही गर्दै अरू दलका कार्यकर्ताको चुनाव चिन्हमा स्वस्तीक चिन्ह लगाउने निर्देशन समेत हुने गरेको छ।
यस्तो परिस्थितिमा आफ्नो दलको प्रभावको मूल्यांकन मात्र हैन आफ्ना पार्टीका कार्यकर्ताको मूल्यांकन पनि छांयामा पर्ने गर्छ। यसरी निर्वाचनमा उम्मेद्वारी चयन गर्ने परिपाटीको परिवर्तन नगरे सम्म अरबौ खर्चिएर सम्पादन गरिने निर्वाचनले कुनै परिणाम दिन सक्दैन। मतदानबाट पाईने अंक गणितीय परिणाम केवल भौतिक परिणाम मात्र हुने छ र यसले गुणस्तरको मापन गर्न सक्दैन। चुनावमा उम्मेद्वारको चयन गर्न पर्याप्त समय रहेको सन्दर्भमा हरेक पार्टीले मतदाता समक्ष पठाउने उम्मेद्वार ईमान्दार र त्यागीलाई छनौट गर्ने अपेक्षा गरिएको छ।