आज विजयादशमी, टिकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे

khabarwave
१० कार्तिक २०७७

काठमाडौं । विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जानकारी दिएकाे छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चांग निर्णायक समितिले जनाएकाे छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

कोरोना संक्रमणको जोखिम रहेकाले टीका लगाइदिने र टीका थाप्ने व्यक्ति दुवैले मास्क लगाउनु पर्ने जनस्वास्थ्यविदहरुले सुझाव दिएका छन् । साथै आ–आफ्नो घरमै बसेर दसैं मनाउन पनि उनीहरुले आग्रह गरेका छन् ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ । कतिपय जिल्लामा आज एक दिनमात्रै र कतिपय जिल्लामा आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका थप्ने चलन छ ।

 

 

Loading spinner