आज कोजाग्रत पूर्णिमा,देवी विसर्जन र टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै

khabarwave
१४ कार्तिक २०७७

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।शास्त्रनुसार विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको जनाइएको छ । आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५:२५ बजेसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएकाे छ  । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएकाे छ । शनिबार पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७:३३ बजेसम्म छ ।महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । आजदेखि दसैँ पर्व सम्पन्न भई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको मानिन्छ । तिहारको स्वागतमा आकाशदीप बाल्ने गरिन्छ ।

 

Loading spinner