आजको क्याबिनेटले निर्धारण गर्छ कुलमानको भविष्य

khabarwave
२९ भाद्र २०७७

काठमाडौं । चौतर्फी दबाव झेलेको सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमानलाई दोहोर्याउन चाहेको छैन । तर पार्टीभित्रको दबाव, सामाजिक सञ्जालदेखि समग्र क्षेत्रको दबाव झेल्न नसक्ने भएपछि कुलमानलाई नियुक्ति गर्नै पर्ने अवस्था सिर्जना भएको छ ।
आइतवारबाट कुलमान घिसिङको विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा कार्यकाल सकियो। देशलाई अन्धकारबाट मुक्त गरेको श्रेय पाएका कुलमानको विदाइमा कुनै कार्यक्रम भएन। सरकारी ओहोदामा पुगेपछि कार्यकाल सकेपछि बाहिरिनु नौलो कुरा होइन। तर यहाँ कुलमान घिसिङको बहिर्गमन भने धेरैलाई सकारात्मक मानेका छैन। त्यसैले त कयौं हप्तादेखि जनस्तरबाट नै कुलमानलाई पुनः प्राधिकरणमा नियुक्ती गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ। सर्वसाधरणलाई सरकारले गर्ने नियुक्तिप्रति विश्वास पनि छैन। प्राधिकरणको कार्यकारी निर्देशक बन्ने होडमा विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह, उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायत छन्। तर, प्राधिकरणको कार्यकारी निर्देशकको पदमा नाम सुनिएका मानिसलाई पत्याउनै गाह्रो मानिरहेका छन् उनीहरु। न त सरकारले जनतालाई बुझाउन सकेको छ न त उम्मेदवारहरुले नै। त्यसैले फेरि कुलमान नारा सर्वत्र छ।

आइतवारबाट कुलमान विद्युत प्राधिकरणबाट बाहिरिसकेका छन् । कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएको केही समयमा नै उनले लोडसेडिङ अन्त्य भएको घोषणा गरेका थिए। यदि प्रधानमन्त्री ओली र मन्त्री पुन कुलमानले तय गर्ने आगामी दिशाबाट सन्तुष्ट भएमा सम्भवत सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई पुनः कार्यकारी निर्देशकमा नियुक्ति गर्ने सम्भावना उच्च रहेको छ। तर कुलमानलाई पन्छाउने योजना सरकारको हो भने सरकारले फेरि खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक आह्वान गर्ने छ । त्यतिबेला कुलमान लाइन लागेर फारम भर्न पक्कै जाने छैनन् । खुल्ला आह्वान गर्नु भनेको उनको अघिल्लो कार्यकालको मूल्याकन नगरिनु जत्तिकै हो ।

Loading spinner