६ वटै प्रदेशभरी उच्च वेगको हावाहुरीसहित वर्षा , सजक रहन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह

khabarwave
१४ जेष्ठ २०७८

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण  सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको नियमित बुलेटिनमा उल्लेख भएअनुसार शुक्रबार दिउँसो र राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ । यसैगरी उच्च हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । केही स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ ।

शनिबार पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुने छ । तर मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मात्र छ ।

आइतबार राति भने प्रदेश १ र प्रदेश २ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।हाल नेपालमा यास चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ ।

 

Loading spinner