१सय ८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द
काठमाडौं । कार्तिक ७ गतेबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका छन् । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने व्यवस्था छ ।
अब विज्ञापन बजाएमा विदेशी च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।
नेपाल केबल टेलिभिजन महासंघका अनुसार अहिले ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुँदैछन् । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको छ ।टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानलले मात्रै अहिले क्लिन फिड च्यानल दिएका छन् ।
कतिपय च्यानलले तयारी गरेपनि पूरा गर्न सकेका छैनन् । ‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित प्रसारण हुँदैछन् । तर, कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्रसारण नहुने भएका छन् ।
अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द भएका छन् ।पैसा तिरेर किनिने प्याकज बाहेकका ‘फ्रि टु एयर’मा सित्तैमा उपलब्ध हुने १२० वटा च्यानल पनि बन्द भएका छन् ।