हाम्रा नेता डिलर हुन् कि लिडर?
ब्यबसायिक अर्थमा डिल वा कारोवार गर्ने ब्यबसायीलाई डिलर भनिन्छ, जस्तै चुरोटको डिलर, चिनीको डिलर वा रक्सीको डिलर आदि आदि। राजनीतिमा प्रयोग हुने शब्द लिडर हो। राजनेतामा हुनु पर्ने बिभिन्न क्षमता वा गुण मध्ये नेत्तृत्त्व गर्न सक्ने क्षमतालाई सर्वोपरी मानिन्छ र यस्ता नेतालाई लिडर भनिन्छ। केही समय देखि हाम्रा नेताहरूलाई संवोधन गर्दा लिडर हैन डिलर शब्द प्रयोग गरेको पाईन्छ।
किन यसरी सम्बोधन गरिएको होला त हाम्रा राजनेतालाई? के हाम्रा नेताले राजनीतिलाई ब्यबसाय बनाएर हो? के राजनीतिक पदहरू लिलाम बढाबढमा राखिन्छन्? के अपराधीहरूले राजनीतिक पद खरीद गर्ने गरेका छन्? के नेताहरूलाई विदेशीहरूले किन्छन्? के चुनावमा उम्मेद्वार हुन पार्टीलाई रकम बुझाउनु पर्छ? के मतहरू खरीद गर्नु पर्ने हो? यस्ता प्रश्नहरूको चांग हुन सक्छन् जसले नेताहरूलाई डिलर बनाउन मद्दत गर्छन्। कुनै पनि देशको विकास राजनेताको क्षमतामा भर पर्छ।
नेतामा भिजन हुनु पर्छ र त्यही भिजनलाई मिसन र लक्ष्यमा रूपान्तरण गरेर नीति र कार्यक्रमको माध्यमबाट कृयान्वयन गर्न सके देशको विकास हुने हो। नेतामा हुने भिजनलाई राजनीतिक दर्शनले संबोधन गर्नु पर्ने हुन्छ। तर हाम्रा नेता भनाउदामा उक्त गुणहरू भेटिदैनन्। हामीले मतदान गर्ने नेता भनाउदाहरूको छनौट प्रकृया उनीहरूको काम र क्षमताको आधारमा नभएर उनीहरूको झोले प्रवृत्तिलाई आधार बनाएर गरिन्छ।
जहां सम्म राजनीतिक दर्शनको कुरा छ त्यो पनि ब्यबहारिक र समसामयीक नभएर १८ औं शताब्दीको अबधारणालाई दर्शन मान्नेहरूको जमातले राजनीतिक वातावरणलाई विषाक्त पारेका छन्। त्यसैले नेपालका नेताहरूमा न त समसायीक राजनीतिक दर्शन छ, न कुनै भिजन छ, न समसायीक दर्शनलाई कार्यान्वयन गर्ने क्षमता छ। यस्ता नेताबाट मुलुकले के अपेक्षा गर्ने हो? देशमा बेरोजगारीलाई सम्बोधन गर्न सक्ने कुनै उद्योग धन्दाहरू छैनन्।
न त यहा दिने शिक्षालाई ब्यबसायिक बनाउन सकिएको छ। सीमित मात्रामा ब्यबसायीक ज्ञान र सीप भएका जनशक्तिहरूलाई पनि देश भित्र रोजगारी दिन नसकेर विदेशिनु पर्ने स्थिति छ। विश्व विद्यालयहरू राजनीतिक दलका ब्याड भएका छन्। विद्यार्थीहरू पठनपाठन तिर भन्दा जिन्दावाद मुर्दावादमा केन्द्रित छन्। अर्को अर्थमा भन्ने हो भने विश्वविद्यालयहरू राजनीति गर्ने अखडाका रूपमा चलेका छन्। यहाबाट उत्पादन हुने शैक्षिक जनशक्तिले खास रोजगार नपाउदा यिनीहरूले राजनीतिलाई ब्यबसाय बनाएका छन्। त्यसैले नेपालका राजनेता डिलरको रूपमा परिणत भएका छन् न कि लिडर।
यसरी डिलरको रूपमा काम गर्ने नेताले न संसदीय मूल्य मान्यताको पालना गर्छ न त अरूको विचारको कदर गर्छ, यसले त आफू सत्तामा रहीरहन हरेक जाल र प्रपन्च सहयोग लिई रहेको हुन्छ। जसरी पनि सत्तामा रहेर आफ्ना आसेपासेलाई राजनीतिको माध्यमबाट रोजगारी दिन्छ र भ्रष्टाचारलाई संस्थागत बनाउछ। राजनीतिको माध्यमबाट देश र जनताको हित गर्नुको सट्टा यस्ता डिलरले देश र ब्यबस्था सखाप बनाउछन्। त्यसैले अब हामीले डिलरलाई हैन लिडरलाई छानौ।