स्वतन्त्र उम्मेद्वारको विजयले दिएको सन्देश

khabarwave
२९ जेष्ठ २०७९

यस पटकको स्थानीय तहको चुनावमा केही स्वतन्त्र उमेद्वारको छनौटको विषय बढी चर्चामा रह्यो। दलीय सहयोग र समर्थनले यस्ता निर्वाचनमा दलीय उम्मेद्वारहरूलाई मत पाउन र विजय हुन अवश्य पनि सजिलो हुन्छ तर यस्तो स्थितिमा पनि केही स्वतन्त्र उम्मेद्वारले जितेका छन्, त्यो पनि दूर दराजमा नभएर संघीय राजधानी रहेको महानगरमा समेत स्वतन्त्र उम्मेद्वारले जिते। यस्तो वहुदलीय ब्यबस्थामा पनि स्वतन्त्र उम्मेद्वारले प्रमुख पदमा जित्ने र त्यसमा पनि सर्वाधिक मतले जित्नुको पछाडि पक्कै पनि केही संकेत हुनु पर्छ। निर्वाचनमा यसरी स्वतन्त्र उम्मेद्वार उठ्नुको पहिलो कारण पार्टीले उम्मेद्वारी दिदा मतदाताको मन जित्न सक्ने र बढी लोक प्रिय उम्मेद्वारको सट्टा आफ्नो गूटको ब्यक्तिलाई टिकट दिने गरेको कारण पार्टी भित्रबाटै बागी भएर उम्मेद्वारी दिनाले हुन सक्छ।

यसै गरी दोश्रो कारणमा विगतमा चुनिएका जन प्रतिनिधिको काम सन्तोषजनक नहुनु र यस पटक पनि उसैलाई दोहोर्याएका कारण नयां स्वादका लागि स्वतन्त्र उम्मेद्वारको खोजी हुनु पर्छ। स्थानीय तहमा राजनीतिलाई भन्दा विकास, निर्माणका कामलाई बढी महत्व दिईने र दलबाट दिईएका र निर्वाचित उम्मेद्वारहरू काम गराईमा दल भन्दा माथि उठेर काम गर्न नसक्नु पनि स्वतन्त्र उम्मेद्वार छनौटमा पर्नु अर्को कारण हुन सक्छ। चुनावको बेला पार्टी वा उम्मेद्वारले आकर्षक नारालाई आफ्नो घोषणापत्रमा राख्ने तर चुनाव जिते पछि बिर्सने बानीले गर्दा मतदाताको छनौटमा स्वतन्त्र उम्मेद्वार परेको पाईन्छ। यति हुदा हुदै पनि विकास निर्माणमा काममा जन सहभागिता चाहिन्छ नै। यस्तो जन सहभागिता जुटाउन राजनीतिक दललाई जति सजिलो हुन्छ त्यति सजिलो स्वतन्त्र उम्मेद्वारलाई पक्कै हुदैन।

लामो समय देखि आधिपत्य जमाएर बसेका दलका नेताको स्वार्थमा आंच पुग्ने सम्भावना बढी हुन्छ यदि स्वतन्त्र ब्यक्तिले विजय हासिल गरेमा। यस्तै परिस्थिति हालै काठमांडौको मेयरमा विजयी स्वतन्त्र उम्मेद्वारलाई यो महानगरको फोहोर ब्यबस्थापनमा सृजना भै रहेछ। यसरी चुनिएका स्वतन्त्र उम्मेद्वारको कार्यशैली राजनीतिकर्मीको जस्तो नभएर कर्मचारीतन्त्रको जस्तो देखिदैछ। कर्मचारीतन्त्रमा हाकिमको निर्देशन र नियन्त्रणमा संगठन चल्न सक्छ तर यस्तो रवैयाले प्रजातान्त्रिक स्वभावको राजनीतिक दल चल्न सक्दैन। प्रजातान्त्रिक संगठनमा हरेक प्रतिनिधि जनताको मतबाट निर्वाचित भएको हुन्छ र सबैको हैसियत समान रहन्छ तर कर्मचारी तन्त्रको तरीकाले राजनीतिक संगठन सन्चालन गर्न खोजेर सफलता प्राप्त हुदैन। कामपाको पहिलो कार्यकारिणीको वैठकले यस्तो छनक दिएको देखियो।

२००७ साल यता हेर्ने हो भने नेपाली जनताले विभिन्न राजनीतिक ब्यबस्थाहरू बेहोरे तर नेपाल र नेपालीको अवस्थामा खासै परिवर्तन देखिएन। यसको अर्थ देश र जनताको आर्थिक सम्पन्नताको आधार राजनीतिक ब्यबस्था मात्र होईन रहेछ भन्ने पुष्टी भयो तर पनि देश र जनताको विकासमा सच्चा जनप्रतिनिधि चुन्न मिल्ने उदार र खुला राजनीतिक ब्यबस्था चाहिन्छ र सो ब्यबस्थामा चुनिने जनप्रतिनिधि ईमान्दार र कर्तब्यनिष्ट हुनु पर्छ। यस्ता प्रतिनिधिहरू राजनीतिक दलमा नभएर हो वा नेताले नचाहेर हो चुनावी प्रतिस्पर्धामा त्यस किसिमका उम्मेद्वार नदेखिदा मतदाताको दृष्टि स्वतन्त्र उमेद्वार उपर परेको देखिन्छ। यसरी वहुदलीय ब्यबस्थामा दलहरू भित्र जनताको मन छुने उम्मेद्वार नहुनु वा दलहरूले उपलब्ध गराउन नसक्नु पक्कै पनि सुखद अवस्था हैन।

यसरी जनमतहरू पार्टी र पार्टीका उम्मेद्वार तर्फ आकर्षित हुनुको सट्टा विकर्षित हुदै जान थाल्यो भने दल, यसका नेता र जनता बीचको सम्बन्ध विश्वाशिलो र वलियो हुदैन। जनताको दृष्टिकोणमा दल र नेता बीचको दूरी बढ्दै जानु शुभ संकेत मान्न सकिदैन। निर्वाचनमा स्वतन्त्र उम्मेद्वारीको जित राम्रो सूचक हैन। त्यसैले अब छिट्टै नै हुदै गरेको प्रदेश र संघको चुनावमा राजनीतिक दल र यसका नेताले यी संकेतहरूलाई वेवास्ता नगरी आफ्ना कमी कमजोरी सुधार्न जरूरी छ। जनमतले यसरी छनक दिदा दिदै पनि दल र नेताले आफ्नो कार्यशैली नसुधारे बहुदलीय प्रजातन्त्रका विरोधीहरूले राजनीतिको मैदान कब्जा गर्न सक्ने देखिन्छ। त्यसैले स्थानीय तहको निर्वाचनमा देखिएका यस्ता संकेतलाई मनन गरी आगामी दिनमा आफ्ना गतिविधि सुधार्नुको बिकल्प राजनीतिक दलहरू संग छैन।

Loading spinner