सबैकाे मुखमा हर्स ट्रेडिङ

khabarwave
१८ फाल्गुन २०७७

आज भोली केही दिन यता प्रमं देखि सबैका मुखबाट यो हर्स ट्रेडिंग भन्ने शब्द खुब सुनिने गरेको पाईन्छ। यसरी सबैको मुखबाट सुनिने शब्दको के अर्थ रहेछ भनेर शब्दकोष हेर्ने मन लाग्यो। शब्द कोषमा Horse Trading को अर्थ Hard and shrewd bargaining ,especially in politics भनेर लेखिएको रहेछ।अर्थात खासगरी राजनीतिक क्षेत्रमा मोलमोलाई गर्ने संकेतको रूपमा यो शब्द वा थेगो प्रयोग गरिदो रहेछ। विगतमा पनि नेकाको विभाजनका बेला छत्तीसे र चौहत्तरे हुदा यो थेगो प्रयोग गरिएको थियो।

यो थेगो यत्ति मै सीमित नभएर सुरा सुन्दरी सम्म पुगेको थियो। यस पटक आफ्नो पद जोगाउन प्रमं केपी शर्मा ओलीले भंग गरेको प्रतिनिधि सभा संवैधानिक ईजलासको २०७७ फाल्गुण ११ को निर्णयले पुनर्स्थापित भए पछि यो थेगो Horse Trading खुब प्रयोग भएको छ र यो थेगोमा मात्र सीमित नभएर दशैका भेडा, च्यांग्राको रूपमा अघि बढ्न थालेका संकेत देखिन थालेका छन्।

हामी सार्वभौम नेपालीले मतदानको माध्यमबाट हामीले प्रयोग गर्ने अधिकार प्रयोग गर्न करार गरेका हाम्रा प्रतिनिधिहरु यसरी भेडाबाख्रा सरह किनवेचमा प्रयोग हुन लागेका हुन भने यो बिडम्बना र घृणित कार्य हो। यसबाट हामीले आस्था राखेको दल र हामीलाई राजनीतिको पाठ र आदर्श सिकाउने हाम्रा नेताहरूलाई र हामीले चुनेर पठाएका हाम्रा प्रतिनिधिलाई कसरी चिन्ने? हामी मतदाता स्वयंलाई कसरी मूल्यांकन गर्ने भन्ने प्रश्न टड्कारो रूपमा खडा भएको छ।

बहुदलीय जनवाद र जनवादी गणतन्त्र लाई गन्तब्य ठान्ने दुईवटा छुट्टा छुट्टै दलहरू निर्वाचनमा दुई तिहाई ल्याएर आफ्नो दर्शनलाई लागू गर्ने निहुंमा एक भएको नाटक गरे, मतदाताले पत्याए , झण्डै दुई तिहाई मत पनि आयो। लोक तान्त्रिक शक्तिको उपस्थिति संसदमा सांघुरियो। नेपालका वामपन्थीहरू बिस्तारै लोकतान्त्रिक धारमा हिड्न थालेका छन्।

यसको अर्थ उनीहरूमा पुरानो धंगधंगी अझै बांकी छ। विगत ३/४ दशक देखि बहुदल र संसदीय कित्तामा राजनीति गर्दै आएका हालका प्रमं ले आफूलाई जति लोकतन्त्रवादी भने पनि उनमा रहेको एकतन्त्रियपन र तानाशाहीको पर्दाफास विगत एक वर्ष यता हुदै थियो र हाल आएर पटाक्षेप भयो। तर यिनका जोडी प्रचण्डले आफ्नो हुर्मत देखाउन नपाउदै यिनले न्यायीक स्वतन्त्रता उपर देखाएको छनक र यिनको प्रधानमन्त्रित्वकालमा नेपाली सेना प्रमुख उपर गरेको ब्यबहारले यिनको मुकुण्डो उत्री सकेको पाईन्छ।

सत्ताको फाईदा एक पक्षले मात्र लियो भनेर असन्तुष्ठ भएको अर्को पक्षले हैरान पारे पछि प्रमं पक्षले प्रतिनिधि सभा विघटन त गर्यो तर यो विवाद अदालतमा पुगे पछि अदालतको आदेशबाट प्रतिनिधिसभा पुनर्स्थापन भयो।यसरी सरकारको विरोध र समर्थनमा सत्ता पक्षबाटै बहुमत पुर्याएर एकले अर्कोलाई अल्पमतमा पार्ने कोशिस संगै सांसदहरू आफ्नो पक्षमा पार्न वैध अवैध कोशिसहरू हुने सम्भावनालाई नकार्न सकिन्न। यी र यस्ता कोशिसहरू सुहाउने कार्य हैनन्। यसरी आत्मको बिक्रीबाट पुग्ने बहुमत कृत्रिम हुन्छ। तर नेपालको राजनीतिमा यस किसिमका हर्स ट्रेडिंगहरू बेलाबखतमा हुने गरेकै छन् जुन राजनीतिका कलंक हुन्।

Loading spinner