लोक गीत र संस्कृति
कुनै पनि देशको पहिचान त्यो देशको संस्कृतिले दिन्छ। जुन सुकै देशको कलाले त्यस देशको संस्कृति बोकेको हुनु पर्छ। नेपाल पनि आदि अनादि काल देखि नै विभिन्न कला बोकेको देशको रूपमा चिनिएको देश हो। नेपालका कलाकार अरनिकोले चीनमा फैलाएको कलाकारितालाई ऐतिहासिक कलाको उदाहरणको रूपमा लिन सकिन्छ। अरनिकोले सृजना गरेको कलामा नेपालको तत्कालीन संस्कृति बोलेको हुदा त्यसको महत्व रहेको हो।
विना संस्कृतिको कलाको जीवन हुदैन। खासमा संस्कृति के लाई भनिन्छ त? कुनै पनि समाजको गहिराई सम्म पुगेका गुणहरूको एकमुष्ठ पहिचान नै संस्कृति हो। यो संस्कृतिको कृ धातु मिलेर बनेको हुन्छ, जसको अर्थ हो क्रीया वा कर्म। यो धातुबाट तीन शब्द प्र कृ ति बन्छन् जसको अर्थ यसमा कृत्रिमता हुदैन। त्यसैले कृत्रिमता नभएका सामाजिक गुणहरूलाई संस्कृति भनिन्छ। हाम्रो समाजमा गाईने लोक गीतहरू जसमा त्यो समाजका प्राकृतिक गुणहरू समावेश हुन्छन् तिनीहरू खास रूपमा लोक गीत हुन्। लोक गीत लोकका गीत हुनु पर्छ, जसमा लोक बोलेको हुनु पर्छ।
हामीले लोक गीत भनेर गाईएका गीतहरूमा के समाजको प्राण छ? के हाम्रा लोक गीतले लोकको भाषा बोलेको छ? के हाम्रा लोक गीतमा कला समेटिएको छ? के हाम्रा लोक गीतमा प्राकृतिकपन छ ?यी र यस्ता प्रश्न संगै हामीले गाईने लोक गीतको मूल्याॅंकन गरिनु पर्ने हुन्छ। हाम्रो समाजमा गाईने केही लोक गीतहरू हेरौ- दशैमा गाईने माला श्री, हाम्रा गायक समुदायले गाउने कर्खा, सुदुर पश्चिममा गाईने डेउडा, पूजामा गाईने भजन, चुट्का, खेली(रोईला), गाऊ तिर गाईने झ्याउरे, गुरूंग समुदायमा गाईने सोरठी, पूर्वि पहाड गाईने मारूनी ,हाक्पारे आदि। खासमा लोक गीतका रचनाकार हुदैनन्, यो अघिल्लो पुस्ताबाट सर्दै आउने कला हो।
यसमा लोकको संस्कृति बोलेको हुन्छ। लोक गीतलाई रोचक बनाउन लोक दोहोरीले महत्वपूर्ण भूमिका खेलेको छ तर आजभोली लोक दोहोरीका नाममा गाईने लोक गीतमा समाजको बोली कत्तिको बोलिन्छ, यो सोचनीय भएको पाईन्छ। समाजको बोलीमा मर्यादा हुन्छ, सीमा हुन्छ, परिवारका सदस्यहरूले पचाउने बोली हुन्छ तर आजभोलीका लोक दोहोरीले सो मर्यादा राखेका छन्?
हो समयको प्रवाह संगै लोक गीत पनि प्रवाह हुन्छन् तर समयको प्रवाहको गति संगै समाजको सोच परिवर्तन हुन सक्दैन। त्यसैले लोक गीत ले समयको गतिलाई भन्दा समाजको गतिलाई समात्न सक्नु पर्छ। लोक गीत वा लोक दोहोरीको अभ्यास स्थलहरू समुदाय अनुसार फरक फरक हुन्छन्। गुरूॅंग समुदायको रोधीघर (जुन वर्तमान समयमा संरक्षणको पर्खाईमा छ),धार्मिक अनुष्ठानहरू, पूजा अर्चना स्थलहरू,धार्मिक मन्दिर तथा पीठहरू, मेला पर्व गरिने ठाऊहरू, बिभिन्न चाड पर्वहरू, खेती पाती तथा मेलापातहरू परम्परागत स्थानहरू हुन् लोक गीत सिक्ने सिकाउने। तर आजभोली लोकगीतको क्षेत्रको ब्यापकतालाई हेरेर आधुनिक विद्यालयहरू खुलेका पनि छन्। लोक गीत समाजका ऐना हुन् र लोक गीत एक अर्काको पीर मर्का, सुख दु:ख, माया प्रेम ब्यक्त गर्ने मनोरन्जन गर्ने माध्यम पनि हुन्।
माया प्रेम साटासाटका क्रममा कतिपयको त घरजामका माध्यम पनि हुन लोक गीत- लोक दोहोरी।त्यसैले लोक गीत समाजको चेतनाको स्तर संगै बहदै समाजलाई मनोरन्जन दिदै अगाडि बढ्न सक्नु पर्छ। यसको संरक्षण समाज, कलाकार आफैले गर्छन् तर लोक संगीत समाज र कलाकारको गहना हुदा हुदै राज्यको पनि गहना हो ।यसको संरक्षण र संबर्द्धनमा समाज, राज्य, सामाजिक संस्था, गैर सरकारी संस्था सबै एकाकार भएर लाग्नु पर्छ। घास काट्न जाॅंदा ,दाउरा टिप्न जाॅंदा, मेलापात जाॅंदा, गोठालो जाॅंदा समाजको बोलीलाई बिभिन्न भाका हालेर डाडा पाखा रन्काउदै लोक गीत गाईन्छ।
पहिला पहिला यी स्वरहरू आफै परीक्षण हुन्थे, कुनै स्वर परीक्षणको आवश्यकता हुदैनथ्यो। तर पछि आएर राज्यले स्वरको स्तर कायम राख्न रेडियो नेपालबाट स्वर परीक्षण लिन थाल्यो। यो ब्यबस्थाले कर्णप्रीय स्वरहरू अभिप्रेरित हुन थाले तर पछि संगीत क्षेत्रमा निजी क्षेत्रको प्रवेश संगै यसको स्तर खस्किन जादा गुण स्तर कायम हुन सकेन। पछि निजी क्षेत्र प्रतिस्पर्धी हुदै गए पछि श्रोताहरूको छनैटमा नपरिने डरले संगीतको विकास पनि क्रमश: गुण स्तरीय हुदैछ। सस्तो लोक प्रीयताका लागि नाॅंगिने होडबाजीले सामाजिक मर्यादालाई हालका लोकगीतले सीमा नाघ्न शुरू गरेको हो कि भन्ने भान पर्न थालेको छ।
कताकता आजभोली गाईने कतिपय लोक गीतले समाजको बोली बोल्न छाडेका हुन कि भन्ने भान पर्न थालेको छ। सपरिवार बसेर टिभीमा प्रशारण भएका लोक दोहोरी सुन्दा हत्तरपत्त टिभी बन्द गर्ने अबस्था आयो भने त्यस किसिमका लोक गीतले समाजको बोली बोलेको मानिदैन । त्यसैले लोक गीतको संरक्षण र संबर्द्धनमा स्थापना भएका अनुगमनकारी निकायले यस तर्फ ध्यान दिई लोक गीतलाई सामाजिक प्रबाह संगै बहने बाताबरण सृजना गरेर लोक गीत लाई वास्तवमा समाजको बोली र ऐना बनाउन सक्नु आजको आवश्कता हो।