राजपत्रबारे भ्रममा नपर्न मुख्यमन्त्री पोखरेलकाे आग्रह,गुरुयोजनाकाे टुंगाे नलाग्दासम्म निर्माण कार्य राेक्न निर्देशन
काठमाण्डाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन ।
बिहिबार प्रदेशको राजधानी र नामाकरण पछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिदै उनले अब गुरुयोजनाको टुंगाे नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताएका थिए । सरकारले यस अघि दाङको राप्ती गाउँपालिका,गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । कानुनी रुपमा जग्गाको किनबेच रोक लगाइसकेको भएपनि गैरकानुनी रुपमा किनबेच हुनसक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन मुख्यमन्त्रीले निर्देशन दिएकाे बताइएकाे छ ।
राप्ती उपत्यकाको राप्ती गाउँपालिका, गढवा र शितगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको बताउदै उनले राप्ती उपत्यका भन्नाले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उनले आग्रह गरेका थिए ।राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको बताउदै मुख्यमन्त्रीले गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइदै जाने बताएका थिए । नक्शाको डिजाइन,गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताउदै उनले भने- अहिलेलाई हेरेर होइन्, ५० वर्षपछि सम्म पनि व्यवस्थित शहर रहने गरी प्लानिङ गर्छौ, योजनाका माध्यमबाट मान्छेको सोंच बदल्छौ ।