माधव नेपाललाई अगाडि सारेर संकट मोचनको बाटो खोज्दै केपी ओली

khabarwave
१८ मंसिर २०७७

काठमाडौं । पार्टी सत्ता र राज्य सत्ता दुवैतिर संकट आएपछि चतुर खेलाडी केपी शर्मा ओली एक पद जोगाउने मुडमा पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकट टार्न विकल्पका रुपमा नयाँ रणनीति चालेका छन् । उनले अध्यक्ष छाडेर भएपछि पूरा कार्यकाल सरकार सञ्चालन गर्ने रणनीतिक प्रयास थालेका हुन् ।

ओलीले अध्यक्ष छाडेर माधवकुमार नेपाललाई उक्त पदमा ल्याउनेगरी राजनीतिक लेनदेनको पहल थाले पनि उनको पहल सहजै निकासमा पुग्न सक्ने देखिँदैन । कुनै एक व्यक्तिलाई तानेर विपक्षी गुट फुटाउन पहिले जस्तो सजिाले नभएकै कारण उनको यो प्रयास सहजै सफल भने हुँदैन । यतिखेरको लडाइँ मुख्य रुपमा केपी ओली र माधव नेपालबीचमै भएका कारण पनि माधवलाई मनाएर अध्यक्षमा ल्याउने ओलीको योजना रहेको छ । त्यसका लागि ओलीनिकटस्थहरुले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल अगाडि बढाएका छन् । तर, नेपालले सकारात्मक जवाफ नदिइसकेको बुझिएको छ । नेपाल ओलीलाई दुवै पदबाट हटाउने रणनीतिका साथ अगाडि बढेका छन् । उनको कदमले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रामक रुपमा ओलीविरुद्ध प्रस्तुत भइरहेका छन् ।

नेकपाभित्र ओलीलाई तीन दिनको अल्टिमेटम दिएर २० मंसिरका लागि सचिवालय बैठक बोलाइएको हो । उक्त अवधिभर ओलीले नयाँ राजनीतिक अस्त्रका रुपमा माधव नेपाललाई अध्यक्ष छाड्ने विकल्प भित्री रुपमा सार्न लागेको बुझिएको छ । ओलीले शनिबारको सचिवालय बैठकमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका थिए । तर, उनले नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने शर्त राखेका हुन् । ओलीले प्रधानमन्त्री पद भने छाड्ने कतै उल्लेख गरेनन् । ओलीको भनाईले उनी प्रधानमन्त्री पद जोगाउन अन्तिम विकल्पमा अध्यक्ष पद छाड्न तयार रहेको देखिएको छ ।

दोस्रो पुस्ताका नेताहरु पनि प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग दैनिकजसो भेटघाट गरेर पूर्व एमालेबीच सहमतिको बिन्दु खोज्न सक्रिय भएका छन् । ओली र प्रचण्डबीच सहमतिको सम्भावना निकै कमजोर भएपछि पूर्व एमाले समूह आपसी एकता गरेर पार्टी एकता कायमै राख्ने सुत्र खोज्दैछन् ।

Loading spinner