माओवादी छाड्दा मन्त्री सँगै श्रीमतीकाे मेयर पद चट् , १४ जनप्रतिनिधिले पद गुमाए

khabarwave
११ असार २०७८

काठमाण्डाै । निर्वाचन आयोगले  नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएकाे जनाएकाे छ।आयोगले माओवादीको जानकारीअनुसार सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको छ।

जसअनुसार दुई मेयरको पद पनि गएको छ। रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ।

रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह पनि माओवादी छाडेर एमालेमा गएकोले माओवादीले सांसद पद हटाइदिएको थियो।यस्तै रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ।

यस्तै महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ।माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको थियो।

Loading spinner