भक्तपुर क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सकहरुकाे पलायनको क्रम बढ्दो, खस्कियो सेवा

khabarwave
१३ आश्विन २०७७

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताललाई भक्तपुर नगरपालिकाले जबर्जस्ती हस्तक्षेप गरेपछि उन्पन्न विवादको समाधान हालसम्म हुन सकेको छैन । विवाद समाधान हुन नसक्दा र अस्पतालको कार्यकारी निर्देशकमा गैरकानुनी रुपमा डा. ऋषिकेषनारायण श्रेष्ठले कब्जा जमाउँदा अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरु पलायन हुनेक्रम बढेको छ ।

यसरी पलायन हुने चिकित्सकहरुमा केही समयअघि भरतपुर क्यान्सर अस्पतालबाट भक्तपुर क्यान्सर अस्पतालमा सेवा गर्न आएका डा. प्रकाश न्यौपाने समेत रहेका छन् । डा. न्यौपाने अस्पतालभित्रको बेथिति र असैह्य अवस्था सहन नसकेर र गैरकानुनी कार्यकारी निर्देशक श्रेष्ठको व्यवहार सहन नसकी बाध्य भएर बी एन्ड बी अस्पतालमा काम गर्न पुगेका छन् । डा. न्यौपानेले उक्त अस्पताल छाडेपछि अन्य चिकित्सकहरुले पनि अस्पताल छाड्नेक्रम बढेको छ ।

यसैगरी ब्लड क्यानसर विशेषज्ञ डा. अजय झा, एनेस्थिसिया प्रमुख डा.दिपेश धिताल,इएनटी प्रमुख डा.बेलु कायस्थले अस्पताल छाडेका छन भने  रेडियसन विभागका डा. नविन बज्राचार्य, विभागीय प्रमुख डा. उज्ज्वल चालिसे, डा. राजिब अधिकारी, डा. अरफान, डा. चाँदनी, डा. प्रभु साहलगायतलाइ टर्चर दिनेकाम भएकाे छ ।   डा. राजीव भर्खरै चीनबाट एमडी गरेर आएका हुन् । उनलाई अस्पताल नेतृत्वले हाजिर गर्न नदिएपछि अन्यत्र सेवा दिन थालेका छन् । मेडिसिन विभाग र नर्सिङ विभागका धेरै स्वास्थ्यकर्मीहरु पनि अस्पताल छाड्ने तयारीमा पुगेको बताइएको छ ।

प्रशासन तथा वित्त प्रमुखको रुपमा जगन्नाथ भुर्तेल कार्यरत रहे पनि उनी निरिह जस्तै देखिएका छन् । गैरकानुनी रुपमा रहेका डा. ऋषिकेष र छायाँका रुपमा भुर्तेल रहेका छन् । अस्पताल प्रशासनको टर्चर सहन नसकी विशेषज्ञ चिकित्सकहरुले सेवा दिन छाडेपछि अहिले भक्तपुर क्यान्सर अस्पताल सेवाको अवस्था दिनप्रतिदिन खस्किँदै गएको छ । जसले गर्दा विरामीको संख्या घट्दै गएको बताइन्छ । अस्पतालभित्रको विवादलाई समाधान गर्न नगर नेतृत्व अग्रसर हुनुपर्नेमा उल्टै हस्तक्षेप गरेपछि जनप्रतिनिधिले नै अस्पतालको व्यवस्थापनमा कसरी हस्तक्षेप गर्छन् भन्ने कुरा भक्तपुर क्यान्सर अस्पताल नमूनाका रुपमा देखिएको छ ।

सर्वोच्च अदालतले नेपाल अर्बुद रोग निवारण संस्थाबाट सञ्चालित सञ्चालक समितिलाई नै अस्पताल सञ्चालन गर्न दिने आदेश दिए पनि भक्तपुर नगरपालिकाका मेयरको आडमा डा. ऋषिकेषलगायतले पुरानो सञ्चालक समितिलाई अस्पताल सञ्चालन गर्न दिने वातवारण सिर्जना गर्न सकेको छैन । जसका कारण अस्पतालको अवस्था दिनप्रतिदिन खस्किँदै गएको छ ।

Loading spinner