
बुढ्यौली एक सोच मात्र
मानिसहरूको उमेर क्रमश: बढ्दै जादा अब त बृद्ध बृद्धा भईयो भनेर हार मान्ने सोचाइ छ तर यसरी उमेर बढ्दै जानु ,बृद्ध हुदै जानु , कमजोर हुदै जानु र आखिरमा अन्तिम दिन तिर जानु हो भन्ने सोचाई क्रमश: परिवर्तन गर्दै लग्नु पर्छ। हुन त विकासोन्मुख देशमा रोजगारीका क्षेत्र सीमित हुने र कार्यरत जनशक्ति निश्चित उमेरमा अवकाश नहुने हो भने भावि पुस्ता बेरोजगार हुन्छ भनेर अवकाशको उमेर तोकिएको हुन्छ।
यसरी हुने अवकाश पश्चात् सम्वन्धित ब्यक्तिले आफू पाको भएको महसुस गर्छ र यस पछि स्वभावैले निजको कृयाशीलता घट्दै जान्छ र क्रमश: आफूलाई पाको नागरिकको कोटीमा राख्न थाल्छ। वास्तवमा यस्तो सोचले उसलाई कमजोर तुल्याउछ। हुन त नेपाल मै पनि अवकाशको उमेरमा ७ वर्षको अन्तर छ। अझै सुरक्षा क्षेत्रका कर्मचारी संग तुलना गर्यो भने यो अन्तरमा अझै फरक पाईन्छ।
विकसित देशको अवकासको उमेरको कुरा गर्ने हो भने त्यहा कुनै कामवाट पनि स्वैच्छिक रूपले वाहेक अवकाशको लागि उमेर छुट्याईएको हुदैन। त्यसैले त्यहा आंफूलाई सधै जवान नै भएको अनुभूति हुन्छ। यसैले बृद्ध बृद्धा हुनुमा शारीरिक कमजोरी हुदै हुदैन भन्ने त हैन तर यसमा शारीरिक भन्दा पनि मानसिक पक्ष सवल हुन्छ भनिन्छ। अहिले आएर मानिसको औसत आयु पनि क्रमश: बढ्दै गएको छ।
यसको कारणमा खानपान तथा वैयक्तित स्वास्थ सम्बन्धमा आएको सचेतनालाई लिन सकिन्छ। त्यसमा पनि मानसिक परिपक्वताले मानिसको बांच्ने क्षमतामा बृद्धि ल्याएको पाईन्छ। सिकिस्त विमारी भएर अस्पतालमा भर्ना भएका ब्यक्तिहरू जसमा मनोवल उच्च छ तिनीहरूको विमार निको हुन सक्छ र उनीहरूको आयु बढ्न सक्छ। हाम्रो संस्कारमा ८४ वर्ष सम्म बांचेका मानिसहरूको ८४ को पूजा गरी सो उमेरको जीवनलाई उत्सवको रूपमा मनाईने चलन छ। हामी प्रकृतिक तरीकाले बांच्न सकेमा र हाम्रो जीवनशैलीमा कृत्रिमता नमिसिएमा हामी बढी उमेर सम्म बांच्न सक्छौ।
हाम्रो शरीरलाई आवश्यक पर्ने सन्तुलित भोजन उमेर अनुसार फरक फरक हुन्छ र हाम्रा दैनिक गतिविधि र कृयाकलाप पनि उमेर अनुसार फरक हुने गर्छन्। त्यसैले हाम्रो खानपान र गतिविधिहरूलाई पनि उमेर अनुसार नै संचालन गर्न सक्नु पर्छ।
हाम्रो शरीर संग रोग प्रतिरोधात्मक क्षमता पनि उमेर अनुसार फरक फरक हुने गर्छ, त्यसैले उमेरको बृद्धी संगै चिकित्सकीय सम्पर्क बढाउनु पर्ने हुन्छ। हाम्रा शाश्त्रहरूको अध्ययनले मानिसको औषत आयु शय वर्ष देखाएको पाईन्छ तर हाम्रा खानपान र कृयाकलापले उक्त उमेरमा क्रमश: क्षयीकरण गर्दै ल्याएको पाईन्छ र हामी सो उमेर सम्म बांच्न मुस्किल पर्छ।
हाम्रा ऋषि मुनीहरूको जीवन शैली प्रकृतमय थियो, त्यसैले उनीहरूको आयु बढी थियो तर आजभोली हाम्रो आहार ब्यबहार खानपानमा हामी प्रकृतिबाट टाढा हुदै जादा यसको अशर हाम्रो स्वास्थ्यमा र अन्त्यमा हाम्रो आयुमा पर्न गयो।
हामी बिमार हुदा हामी जडीबुटीको प्रयोग गर्दथ्यौ, हाम्रो उपचारमा आयुर्वेद पद्दती प्रयोग हुन्थ्यो, एउटा रोग निको हुदा अर्को रोग बल्झिन पाउदैनथ्यो तर आजभोली प्रयोग हुने आधुनिक औषधी तथा उपचार पद्दतिका बिभिन्न साईड ईफेक्ट तथा ईलर्जीहरू औषधी संगै देखा पर्छन्।
प्राकृतिक रूपले कमजोर हुदै जानुलाई स्वभाविक मानिन्छ तर हामी जानेर वा नजानेर अनावश्यक मानसिक तनाव, चिन्ता आदि लिएर हाम्रो बुढ्यौलीलाई चाडै निम्त्याउछौ जसबाट हाम्रो आयु हाम्रै कारणले घटाउछौ।
बुढ्यौलीपनको मानक उमेर मात्र नभएर मानवीय गतिविधि र मानसिक सोच पनि हो। किनभने कमजोर मानिसको बुढ्यौलीका लागि बढी उमेर पुगी रहनै पर्दैन, सानो उमेर मै बुढ्यौलीपन देखा पर्छ । त्यस कारण उमेर भनेको गणित हो र बुढ्यौली भनेको मानसिक अवस्था हो।
यसैले हाम्रो दैनिकी जति सक्छौ उती सकृय बनाएमा हाम्रो आयु बढाउन सकिन्छ। हाम्रा बिभिन्न गतिविधिहरू मध्ये बर्षको एकपटक मानिने जन्मोत्सव एक विशेष उत्सव हो।यो दिनको जमघट र आफन्तको शुभेच्छाले सम्बन्धित ब्यक्तिको मनोबल र उत्साह बढ्छ जुन ब्यक्तिको स्वस्थताको मानक हुन सक्छ। त्यसैले ब्यक्तिको उमेर बढ्नु बुढौलीको संकेत नभएर यो एक अंकगणीत मात्र हो भनेर बुझ्नु पर्छ।