बहुदलीयतामा राजनीतिक दलको भूमिका
दुई वा दुई भन्दा बढी राजनीतिक दलहरूको प्रतिस्पर्धामा सरकार बनाउने ब्यबस्थालाई बहुदलीय ब्यबस्था भनिन्छ।यो ब्यबस्थामा हुने निर्वाचन आवधिक हुन्छ। देश र जनताको हितको लागि निर्धारित अवधिमा सन्चालन गरिने कार्यक्रमलाई प्रस्तुत गरेर राजनीतिक दलहरू जनताका बीचमा जाने गर्छन् र जनताले यिनै कार्यक्रम र नीतिका आधारमा अमूक पार्टीलाई मतदान दिएर सरकारमा पठाउछन्।
बहुदलीय ब्यबस्थाको मर्म र उद्देश्य यही हो तर नेपालको राजनीतिक ब्यबस्थामा नेपालका राजनीतिक दलहरूमा यो अवधारणाले कति काम गरेको छ यसैको कसीमा रहेर नेपालका राजनीतिक दलहरूको मूल्यांकन यस आलेखमा गर्ने प्रयत्न गरिएको छ। नेपालको राजनीतिक ईतिहांस हेर्दा २०१५ साल देखि २०१७ साल बीचको १८ महिने अवधिलाई छोडेर २०४६ साल भन्दा अगाडि दलीय आधारमा राजनीति गरिएको थिएन।
अर्थात करीब ३० वर्षको शासन ब्यबस्था निर्दलीय रह्यो। बहुदलीय शासन ब्यबस्थाको माग गर्दै नेपालका राजनीतिक दलहरूले गरेको आन्दोलन राजा र दलहरू बीच २०४६ साल चैत्र २६ गते गरिएको सम्झौता बाट अन्त्य भई नेपालमा २०१७ साल पुष १ गते खोसिएको बहुदलीय ब्यबस्थाको पुनर्स्थापना भयो। नेपाली कांग्रेस र सात वाम मोर्चाको संयुक्त आन्दोलनबाट प्राप्त बहुदलीय संसदीय ब्यबस्था अन्तर्गत स्थापित संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रूपमा चित्रित गर्दै केही कम्युनिष्ट हौ भन्ने समूहले माओवादको नाममा संसदीय ब्यबस्थाको पुनर्स्थापना भएको ५ वर्ष बित्दा नबित्दै यसैको विरोधमा हत्या हिंसा मच्चाउन थाल्यो। बहुदलीय प्रजातन्त्रमा आस्था राख्ने दल र यसका कार्यकर्ताहरू उपर आक्रमणका श्रृंखला बढाउदै गयो। मुलुकमा लुटपाट, बलत्कार, हत्या, हिंसा बढाउदै लग्यो। तर विश्ववाट अस्ताउदै गएको साम्यवादलाई गायत्री बनाउदै थालिएको कथित आन्दोलनबाट थाकेर यसका पात्रहरू पुन: संसदीय फांटमै आश्रय लिन आईपुगे।
हालको नेपालको बहुदलीय संसदीय ब्यबस्थालाई नेपाली कांग्रेसले निर्विकल्प रूपमा स्वीकार गरेको पाईन्छ।यसको गन्तब्य प्रजातान्त्रिक समाजवाद हो र यसको ब्यबहार शत प्रतिशत प्रजातान्त्रिक हुने अपेक्षा गरिन्छ। यो क्याडर बेस्ड नभएर मास बेस्ड पार्टी हो।यसका मतदाता यसले ल्याउने कार्यक्रम र यसका ब्यबहारमा भर पर्ने देखिन्छ।नागरिक स्वतन्त्रता, मानव अधिकार, कानूनी शासन, संसदीय सर्वोच्चता, न्यायीक स्वतन्त्रता यसका मौलिकता हुन। तर नेपालका कम्युनिष्टहरूले यस ब्यबस्थालाई तीन तवरबाट उपयोग गरेको पाईन्छ। नेकपा-एमालेले यो ब्यबस्थालाई ७५% स्वीकार गरेको छ र प्रजातान्त्रिक आचरणलाई ५०% पालना गर्दै आएको छ। यिनीहरूले मतदातालाई क्याडर सरह मान्छन्। क्याडरबाट लेवी उठाऊछन्। आफ्नो गन्तब्य साम्यवाद भन्न छुटाउदैनन्।
यिनीहरूले ल्याउने कार्यक्रमबाट समस्त नेपाली भन्दा आफ्नै पार्टीका कार्यकर्ता लाभान्वित हुने यो पार्टीले कम्युनिष्ट चरीत्रलाई ट्रेड मार्कको रूपमा लिदै क्रमश: संसदीय फांट तिर जान खोजेको पाईन्छ। अर्को पार्टी माओवादी केन्द्र छ, यसको प्रजातान्त्रिक चरीत्र २५% र यसले संसदीय ब्यबस्थालाई ५०% स्वीकारेको पाईन्छ। यो पार्टीले विगतमा हत्या, हिंसा र लुटपाटलाई माध्यम बनाएर राजनीति गरेकोले जनमानसमा राम्रो छवि बनाउन नसकेकोले कहिले को संग कहिले को संग लहसिएर राजनीति गर्दै आएको छ।यो पनि क्याडर बेस्ड र लेबी वाला प्रणालीबाट चलेको पाईन्छ। यसलाई प्रजातन्त्र भन्ने शब्दबाट ईलर्जी हुन्छ र जन तन्त्र भन्न रूचाऊछ। अर्काथरी कम्युनिष्टहरू संसद भन्दा बाहिर बसेर आ-आफ्नो डम्फू बजाउदै छन्। तर नेपालको राजनीतिमा यिनीहरूले कुनै स्थान बनाउन सकेका छैनन्।
यसै गरी केही स्थानीय र क्षेत्रीय दलहरू पनि कुनै न कुनै रूपमा अस्तित्वको लडाई गरी रहेका छन्। यसरी नेपाल र नेपालीलाई राजनीतिको माध्यमबाट उन्नत तुल्याउन नेपालको राजनीतिमा प्रतिस्पर्धामा देखिएका दलहरूमा गन्तब्यको समस्या देखिएको छ । जनताका अगाडि यी दलहरू त्यति लोकप्रीय भएको पाईदैन। दलहरूले आफ्नो लोकप्रीयता जनताका बीचमा पाउन नसकेर आफ्ना कार्यकर्ताहरूबाट प्रमाणित गर्नु पर्ने स्थिति सबै दलहरूमा पाईन्छ।यिनीहरू मध्ये वाम पन्थी दलहरू निकै अलमलमा परेको पाईन्छ। यिनीहरूले आफ्ना मतदाताहरू बीचमा सत्य कुराहरू बोल्न कंजुस्याई गरेका छन्।यिनीहरूमा द्वैध चरीत्रको समस्या देखिएको छ। यिनीहरूमा गन्तब्य कै समस्या छ। यिनीहरूले प्रजातन्त्रको सुविधा लिएका छन् तर प्रजातन्त्रलाई जस दिन भने सकेको पाईदैन।
मानवलाई मेशिन ठान्ने मानसिकताबाट माथि उठ्न नसक्ने कम्युनिष्टहरूले संसदीय ब्यबस्थालाई दुरूपयोग गरेर राजनीति गरी रहेका छन्। संसदीय प्रजातन्त्रमा विश्वास मानेर प्रजातान्त्रिक समाजवादलाई गन्तब्य ठानेको नेपाली कांग्रेसमा दूर दृष्टि सहितको नेताको अभाव र प्रजातान्त्रिक संस्कारको कमी देखिदै गएको छ।राजनीतिक बाटो बिराएका राजनीतिक दलहरूलाई डोर्याएर हिडाउनु पर्ने दल नेपाली कांग्रेस आफै गन्तब्यको अलमलमा परेको जस्तो देखिन्छ। नयां पुस्तालाई कृयाशील बनाउदै देश विकासको यज्ञमा लगाउनु पर्ने नेपाली कांग्रेसको नेत्तृत्त्व आफै सत्तामा बसीरहन खोजे जस्तो देखिदैछ।