प्रदेशसभाकाे बैठक अनिश्चितकालका लागि स्थगित भएपछि प्रचण्ड–माधव समूह आक्राेशित

khabarwave
५ फाल्गुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सहमतिअनुसार बैठक नबोलाएर स्थगित गरेकाे भन्दै  उपसभामुखलाई विरोधपत्र बुझाएको छ ।

संघीयताको भावना र संविधान विपरीत प्रदेशका सभामुख संघीय सरकारको आदेशपालक बनेको भन्दै प्रचण्ड–माधव समूहले उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएको छ ।तत्काल बैठक बोलाउनुपर्ने र केन्द्रको आदेशमा नभएर परामर्श समितिमा जुट्ने सहमतिका आधारमा प्रदेशसभा चलाइनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि लगातार बैठक छल्ने प्रयास भएको भन्दै यो समूहले आपत्ति जनाएको छ ।

मंगलबार साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले बुधबार दिउँसो २ बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका थिए । दलहरु तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाएका थिए । बिहान ६ बजे नै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराइयो ।आजको बैठकबाट मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा छलफल सुरु गर्ने सहमति जुटेको थियो ।बैठक अनिश्चितकालका लागि स्थगित गरिए पछि कांग्रेस र साझा विवेकशीलले पनि विरोध जनाएका छन् ।

 

Loading spinner