प्रतिगमनबिरूद्व कांग्रेसका १९ शुभेच्छुक संस्थाहरू सडकमा

khabarwave
२४ माघ २०७७

काठमाडौँ । नेपाली कांग्रेसका १९ शुभेच्छुक संस्थाहरू प्रतिनिधि सभा विघटनविरुद्धमा टुँडिखेल घेराउ गरेका छन् । नेपाली कांग्रेसका १९ शुभेच्छुक संस्थाहरूमा नेपाल शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल प्रेस युनियनलगायतको आहृवानमा शनिबार टुँडीखेल घेरेर मौन प्रदर्शन गरेका हुन् । शुभेच्छुक संस्थाहरूले ७७ जिल्लाकै सदरमुकाममा प्रदर्शन गरेका छन ।

दुई तिहाइ बहुमतको सरकारले नागरिकको दैनिकीलाई सहज बनाएर कोभिड(१९ को खोप दिनुपर्ने अवस्थामा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्दा मुलुकलाई ठूलो आर्थिक व्ययभार परेको पनि उनीहरूले बताएका छन् ।उनीहरुले सरकार मुलुकमा भएका समस्याहरूप्रति गैरजिम्मेवार मात्र होइन संविधान र विधिको शासनप्रति संवेदनशील नभएको आरोप लगाए । सरकार किन नागरिकप्रति उत्तरदायी नभएको भन्दै यसको विरोधमा आम नागरिक लाग्‍नु पर्ने पनि बताए ।

कांग्रेसका शुभेच्छुक संस्थाहरूले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधि सभा विघटन गर्नुलाई भर्त्सना गर्दै जनताको सर्वोत्तम हितको रक्षा, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको रक्षा र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि सबैसँग अपिल गरेका छन् ।कांग्रेसको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत शुभेच्छुक संस्थाहरूले काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका हुन् ।

Loading spinner