प्रजातन्त्र दिवसका अबसरमा राष्ट्रपति र उपराष्ट्रपतिको यस्ताे आयाे सन्देश

khabarwave
७ फाल्गुन २०७७

काठमाण्डाै ।     राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी हुन् ।

“प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ”, सन्देशमा भनिएको छ । विक्रम संवत् २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वभौम नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत् निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ हामी नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले भनेका छन्, “ विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२र६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपब्धिलाई सार्वभौम संविधानसभाबाट जारी नयाँ संविधानले संस्थागत गरिसकेको छ ।”

 

 

Loading spinner