
प्रजातन्त्रवादी नेतृ सुकीसहित राष्ट्रपति सेनाकाे हिरासतमा,राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द
काठमाडौं । विश्व प्रतिष्ठित नोबेल शान्ति पुरस्कार बिजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ ।नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
त्यस्तै म्यानमारको सेनाले राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनीहरूलाई निवासबाट नियन्त्रणमा लिइएको हो।सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको छ ।
गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ ।
बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य मुख्य शहरमा सैनिकको तैनाथी बढाउनुकासाथै राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।