पुस मसान्तमा नियमित महाधिवेशनको तालिका ल्याउँदै कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका पुस मसान्तमा ल्याउने तयारी गरेको छ। आइतबारको केन्द्रीय समिति बैठकमा पुस मसान्तको कार्यतालिका ल्याउने गरी विवाद समाधानउन्मुख पुगेको हो। पार्टीको महाधिवेशन नियमित गर्ने कि विशेष गर्ने भन्ने विवादले असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठक टुंगिएको छैन। विवाद समाधान नदेखिएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका देउवाले आफैँ विवाद समाधान गर्न कस्सिएका छन्। पछिल्लो तीन दिनयता देउवा पार्टी विवाद समाधानमा सक्रिय छन्। बिहीबार पार्टी पदाधिकारीसँग छलफल गरेका देउवाले शुक्रबार पदाधिकारी र केही पूर्वपदाधिकारीलाई डाकेर छलफल गरे। विवादित नेताहरूलाई उनले भने, समयमै महाधिवेशन सक्न भनेर मैले जिम्मेवारी दिएकै हो। तपाईँहरु विवाद गरेर बस्ने ? उनले आफू पार्टी छोड्न तयार भइसक्दा पनि नेताहरू नियमित र विशेषको नाममा विभाजित भएको भन्दै आपत्ति जनाए। मैले नेतृत्व छोड्ने भनिसकेँ तपाईंहरू विवाद गरेर यत्रो समय कटाउनुहुन्छ, देउवालाई उदृत गर्दै एक पदाधिकारीले भने, नियमित महाधिवेशनको मिति तोकेरै अघि जानुपर्छ। समय अपुग हुन सक्छ तर, यस्तो अवस्थामा सम्पूर्ण शक्ति लगाएर गरौँ। पुस मसान्तसम्म सक्नुपर्छ अब। किन सकिन्न ? म नेतृत्व छोड्न तयार भएको मान्छेले हुन्छ भन्दा तपाईंहरू किन बखेडा झिक्नुहुन्छ। ती पदाधिकारीका अनुसार विषय मिल्नेतर्फ अघि बढेको छ। नियमित महाधिवेशनको विषयमा समय अपुग भएको भन्दै महामन्त्रीहरूले आशंका भने व्यक्त गरेका थिए। लगत्तै महामन्त्री थापाले भने, हस्ताक्षर फिर्ता लिन लगाउने कुराको जिम्मा म लिन सक्दिनँ। तपाईंहरू नियमितका लागि तयार नभएपछि आएको परिस्थिति आफैँ सम्हालुनुस्। केन्द्रीय समितिको बैठक सुरु भएदेखि नै कांग्रेसको नियमित महाधिवेशन या विशेष महाधिवेशन भन्नेमा नेताहरू विभाजित हुँदा विवाद लम्बिएको छ। यसको समाधान अझै हुन सकेको छैन। सभापति देउवानिकट नेताहरू नियमित महाधिवेशन गर्नुपर्ने तर महाधिवेशन फागुन २१ को निर्वाचनपछि मात्रै गर्नुपर्ने पक्षमा देखिए।
