पुस्तान्तरण र पहिचान
जब कुनै परिवारमा कम्तिमा तीन पुस्ता संगै बस्छन् त्यस्तो परिवारलाई संयुक्त परिवार भनिन्छ।यस किसिमको परिवारमा कुनै कुनै सदस्य बीच कम्तिमा ६० वर्षको उमेरको अन्तर हुने गर्छ। त्यसरी नै यिनीहरूको अनुभव र रूचीको अन्तर हुनु त स्वभाविकै भयो।
उदाहरणका लागि कुनै परिवार हाल अमेरिकामा बस्छ भने यिनीहरू बीच एक आपसमा बोलिने भाषामा अन्तर हुने गर्छ ,बच्चाहरू नेपाली बुझ्छन तर बोल्दा अंग्रेजी बोल्छन्, यिनीहरूका आमाबाबु नेपाली र अंग्रेजी दुबै बोल्छन् तर जेष्ठ नागरिकहरू(खासगरी बाजे बज्यै) अंग्रेजी बुझ्दैनन् र नेपाली मात्र बोल्छन्। तर यसमा सीमित रूपमा अपवाद नभएको भने हैन। भाषा जस्तै खानपिनमा पनि यस्तै स्थिति छ। नयां पुस्ता नेपाली खानामा रूची राख्दैन र मझौला पुस्ता दुवै तिरको खानालाई अन्यथा मान्दैन तर पुरानो पुस्ताले साविकको स्वाद कै चाहना गर्छ।
पहिरनमा समेत यस्तै देखिने गर्छ। यो विशेषता नेपाल भित्र पनि कुनै न कुनै रूपमा देखिने गरेको पाईन्छ। नेपालको परम्परा, संस्कृति र चालचलनमा त युवा पुस्ताले निर्वाह सम्म गरेको पाईन्छ तर नयां पिढीमा हस्तान्तरण हुने सम्भावना करीव करीव शून्य जस्तै देखिदै गएको छ। यदि कला, संस्कृति, वेशभूषा र भाषा पहिचान मान्ने हो भने भावि पिंढीको पहिचान गुम्ने स्थितिमा पुगी सकेको छ तर यसमा कसैलाई चिन्ता छैन। हाल नेपालका बिभिन्न टेलिभिजन च्यानलले लोक संस्कृतिको संरक्षण , सम्बर्धन गर्न बिभिन्न कार्यक्रम सन्चालन गर्ने गरेको पाईन्छ।यस्ता कार्यक्रमहरू सन्चारका माध्यम मार्फत देश विदेश नभनी सबैका कोठा कोठामा पुग्छन् तर यिनीहरूले प्रसारण गरेको कार्यक्रममा युवा पुस्ता र साना नानीहरूको रूची रहेको पाईदैन।
यस किसिमको परिस्थिमा आफ्नो पहिचान र अस्तित्व जोगाउने कुरा समस्याको रूपमा रहन गएको पाईयो। हामीले हामीलाई बोलाउने नाममा पनि स्वदेशको पहिचान गुमाउन थाली सकेका छौ र विदेशी नाम राख्दै गएका छौ र नामको पछाडि राखिने थर पनि बाबु कै मात्र राख्ने कि आमाको पनि राख्ने वा आमाको मात्र राख्ने कि भन्ने तिर गै रहदा हाम्रो परिचय क्रमश: गुम्दै गएको आभास भै रहेको छ। कसैको पनि पहिचान भनेको निजले बोल्ने भाषा, निजको रहन सहन, वेशभूषा,संस्कृति, चालचलन आदि हुन्। यी सबै पक्षको पुस्ता हस्तान्तरण संगै निजको पहिचान कायम हुदै जाने हो तर यिनीहरूको संरक्षण र पुस्तान्तरण हुन नसकेमा यसको अन्त्य संगै निजको पहिचान हराउन पुग्छ। यसरी हराउदै जाने सम्भावना भएको पहिचानलाई कायम राख्न जरूरी देखिन्छ। पहिचान संगै अस्तित्व हराउन पुग्छ।
यसैले यसको संरक्षणका लागि सम्बन्धित ब्यक्ति र निजको अभिभावकको भूमिका त रहन्छ नै। तर निजहरू उत्पति भएको मुलुक पनि यसको संरक्षणको दायित्वबाट पन्छिन मिल्दैन। त्यो देशले आफ्नो प्रतिनिधिको रूपमा पठाएका राजदूत र गैर आवासीय संगठनको सहयोगमा आफ्नो देशका कला संस्कृति र भाषालाई अन लाईनको माध्यमबाट प्रसारण गर्न सक्छ।भाषा संरक्षणमा हाल भै रहेका प्रयासलाई समेत अझ प्रभावकारी बनाएर देश विदेशमा छरिएर रहेका आफ्ना र गैर आवासीय नागरिकहरूको पहिचान कायम राख्न संबन्धित देशले पहल गर्नु पर्ने देखिन्छ।