पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान
काठमाडौं । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको जानकारी दिँदै कोषमा योगदान गर्न आह्वान गरेका हुन् । सरकारले आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति ९गठन० आदेश, २०८२ जारी गर्दै कोषको स्थापना गरेको हो । मन्त्री घिसिङले कोषमा निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट योगदान गरी राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन आह्वान गरे । कोषमा जम्मा हुने रकम पारदर्शी रूपमा खर्च गरिने उनले बताए । त्यस्तै मन्त्री घिसिङले मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन अधिकतम प्रयास गरेको र निरन्तर पहिरो खसिरहेकाले समस्या देखिएको बताए । वर्षा नभए राती पनि काम गरेर सडक खुलाउने प्रयास गरिने उनले बताए । उनले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि अन्य वैकल्पिक मार्गको सुधार गर्दै आवतजावत सहज बनाउने काम भएको जिकिर गरे । मन्त्री घिसिङले जेन(जी आन्दोलनबाट क्षति भएका क्षतिको मूल्याङ्कन जारी रहेको र पुनर्निर्माणका लागि प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए ।
