नेपालको सबैभन्दा ठूलो ८ करोड कित्ताकाे आईपीओ आजदेखि

khabarwave
२ माघ २०७७

काठमाण्डाै ।  नेपालको सबैभन्दा ठूलो आईपीओको रुपमा आज आउन लागेको इन्फ्रास्ट्रक्चर बैङ्ककाे शेयरप्रति चासाे बढेकाे छ । नेपालकै एकमात्र पूर्वाधार बैङ्कको रुपमा रहेको आफ्नो चुक्ता पुँजीलाई २० अर्ब पुर्याउन सो बराबरको आईपीओ ल्याउन लागेको हो । निफ्राले आईपीओ निष्कासनका लागि यही मंसिर ८ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले निवेदनबारे अध्ययन गरी मंसिर २४ गते बैङ्कलाई आवश्यक जिज्ञासा पठाएको थियो । बोर्डले पुस १० गते बैङ्कको आईपीओ र विवरणपत्रलाई अन्तिम स्वीकृति दिएको थियो । ८ अर्बको रुपैयाँको ८ करोड कित्ता आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषका लगानीकर्तालाई तथा ०।२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिनेछ ।

स्वीकृत आवेदकमध्ये सबैले प्राप्त गर्नसक्ने भएकोले यो शेयर सबैको आकर्षणको केन्द्र बनेको हो ।इन्फ्रास्ट्रक्चर बैङ्क पनि बजार पुँजीकरणको हिसाबले उत्कृष्ठ १० कम्पनीको सूचीमा पर्नसक्ने सम्भावना भएको अर्को एउटा कम्पनी हो । आईपीओ जारी भएपछि यो कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्छ । अहिले ७० अर्ब भन्दा कम पुँजीकरण भएका कम्पनी समेत बजार पुँजीकरण भएका कम्पनीमा परेको अवस्थामा यो कम्पनी पनि त्यो सूचीमा तत्कालै पुग्नसक्ने सम्भावना छ ।

३ वर्षअघि नेपाल राष्ट्र बैङ्कबाट कारोबार अनुमति पाएको यो बैङ्क पूर्वाधार क्षेत्रमा लगानी गर्ने विशिष्टिकृत बैङ्क हो । यो कम्पनीमा १० प्रतिशत सरकारको लगानी छ । ५० प्रतिशत लगानी निजी क्षेत्रको रहँदा बाँकी ४० प्रतिशत शेयर सर्वसाधारण लगानीकर्ताको हुनेगरी आईपीओ जारी गर्न लागिएका छ ।

यो बैङ्कले ठूला प्रकारका निक्षेप संकलन गर्ने र कर्जा पनि ठूलो स्केल र सीमित क्षेत्रमा मा प्रवाह गर्ने अनुमति प्राप्त गरेको छ । हालसम्म पूर्वाधार क्षेत्रका केही बैङ्कमा मात्रै लगानी सम्झौता गरिएको छ ।

Loading spinner