
धन्यवाद विगतका ती दिनहरूलाई
भरखर कोदाको नल काटेको बारीमा
ओछ्याएको नयॉं गुन्द्रीमा
महेन्द्रले राजदण्ड लिएको
मेरो पहिलो कितावका
बार्ह खरी र दूना
मेरा बा ले घोकाएका ती दिनहरू।।
घर माथीको साऊने पानीमा रहेको
विना छानाको स्कुलको
कम्पाउण्डमा उभिएर
गाउछ गीत नेपाली
पश्चिम किल्ला कॉंगडा
पूर्वमा टिस्टा पुगेथ्यौ
राष्ट्रिय गान गाएका ती दिनहरू।।
आंपका हॉंगाको छानोमुनी
आंपका जराहरूलई बेन्च मानेर
ढांडाको चउरमा
कक्षा लिएका ती दिनहरू।।
खोरवार मुनीको ठाटीमा
चमेराको लिंडलाई पन्छाउदै
हाप छुट्टीमा माछा मारेर
टोपीमा लुकाउदै
कक्षा लिएका ती दिनहरू।।
जफतिमा रहेको डिठ्ठाको ठॉंटीमा
शिक्षकहरू निम्तोमा जादा
आफै मनिटर भएर
कक्षा लिएका क्षणहरू
बॉंस्कोटमा बनेको हाल कै ठाउमा
अन्तिम कक्षाको परीक्षा दिदा
आफू प्रथम भै खुसी भएका ती दिनहरू।।
खरीले पाटीमा लेखेर
सॉंवा अक्षर चिनेको
वेन्चको सट्टा थर्कटीमा बसेर
अमृत झर्ने छाप्राका
सुन्दरताका थुॅंगा हौ
भन्ने पाठ चर्को चर्को स्वरमा
घोकेका ती दिनहरू।।
निगालाको कलमले
कटुसका पात पकाएर बनाएको मसीले
कखरा र दूना लेखेको
मट्टीतेल नहुदा टुकीको उज्यालो नपाएर
मकैका डॉंठ बालेर
गृह कार्य गरेको ती दिनहरू।।
नुहाउने सावन नपाएर
सजिवनका गेडा पिसेर नुहाएको
कपडा धुने सावुन नहुदा
खरानीको बाहनमा
पकाएर कपडा धोएका ती दिनहरू।।
साथीको संगतमा लागेर
हाप छुट्टीमा भागेर
भोली पल्ट स्कुल जादा
शिक्षकले उल्टो हातमा
छडीले कुटेका ती दिनहरू।।
स्कुल जॉंदा तर्नु पर्ने
खोलामा पुल नहुदा
कपडा र झोला टाउकोमा बॉंधी
पौडिदै खोला तरेका ती दिनहरू।।
मलाई परिपक्व बनाएका
मलाई मेहनती बनाएका
मलाई आजको म बनाएका
ती दिनहरू सम्झदा गर्व लाग्छ
मलाई अनुशासनमा राख्न
मेरा गुरूहरूले गरेका सुधारका
प्रयास प्रति म नतमस्तक छु
धन्यवाद गुरूहरूलाई,
धन्यवाद मेरा अभिभावक र
धन्यवाद मेरा विगतका ती दिनहरूलाई।।