देउखुरीमा स्थायी संरचना नबन्दासम्म मुकाम बुटवलमै,नयाँ राजधानीकाे गुरुयोजना दुई वर्षभित्र

khabarwave
२४ आश्विन २०७७

काठमाण्डाै । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा स्थायी संरचना नबन्दासम्म मुकाम बुटवलमै रहने भएको छ। यसका लागि सरकारको ‘लेटरहेड’मा लुम्बिनी प्रदेश, मुकाम बुटवल राखेर प्रचलनमा ल्याइसकेकाे  छ।

देउखुरी उपत्यकामा शून्य संरचनाबाट काम थाल्नुपर्ने देखिएको छ। त्यसका लागि करोडौं बजेट आवश्यक हुन्छ। मुख्यमन्त्री शंकर पोखरेलले विस्तृत सहरको गुरुयोजना बनेपछि मात्रै संरचना निर्माण थालिने संसदमै बताइसकेका छन । मुख्यमन्त्री पोखरेलले संसदमै भनेका थिए -यो ५० वर्षपछिको पुस्ताले पनि गर्व गर्नलायक स्थान बनाउने हो ।त्यसैले भर्जिन ल्यान्ड खोजिएको हो। अर्को काठमाडौं बनाउने होइन। प्रदेश सरकार अब अस्थायी संरचनामै दाङ नजाने कुरा राजधानी तोकिएको स्थानमा स्थायी पूर्वाधार बनेपछि मात्रै सरकार त्यहाँ सर्ने याेजनामा छ ।

प्रदेश सरकारले राजधानीका लागि आगामी दुई वर्षभित्र गुरुयोजना निर्माणको काम सक्ने आकलन गरिएकाे छ। त्यसपछि पूर्वाधार निर्माणको काम सुरु हुने छ ।

प्रदेश मुकाममा संसद् भवन, संसदीय दलका कार्यालय, समितिका कार्यालय बनाउनुपर्छ। कम्तीमा सात मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, मन्त्रालयमातहतका दर्जनौं आयोग, निर्देशनालयका लागि पूर्वाधार बनाउनुपर्छ। मुख्यमन्त्री, सभामुख, मन्त्रीहरूका आवास गृहसहितका संरचना नभई मुकाम स्थानान्तरण हुँदैन। यी संरचनाका लागि पर्याप्त बजेट विनियोजन भए कम्तीमा ५ वर्षमा पूर्वाधार तयार हुन सक्ने अपेक्षा गरिएको छ। रुपन्देहीका नयाँ ,पुराना करिब ४० वटा भवनमा मन्त्रालयका विभिन्न निकायहरू छन्।

गत मंगलबार प्रदेशसभाले प्रदेशको राजधानी दाङको राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको दुईवटा वडामा रहने प्रस्ताव दुई तिहाइले पारित गरेको थियो।

Loading spinner