दिदी बहिनी र भाइ टीका
दाजु भाइ र दिदी बहिनी बीचको सम्बन्धलाई हिन्दू परम्परामा मात्र हैन जुनसुकै समुदाय र परम्परामा पनि ज्यादै पवित्र र सम्मानजनक सम्बन्धको रूपमा मानिन्छ तर यहाॅं नजिकै आई रहेको भाईटीकालाई संबोधन गर्ने प्रयास गरिएकोले हिन्दू परम्परा बमेजिम यी दुई नाता बीचको ममता र सन्निकटतालाई उल्लेख गर्न खोजिएको छ। बास्तबमा एउटै आमाको कोखबाट जन्म भए पनि यी दुई नाता बीचमा जन्म देखि नै विविध ब्यबहार हुने , गरिने परम्परा रहदै आएको छ।
दिदी बहिनी बिबाह गरेर पराईको घर जानु पर्ने, जन्म घरलाई माईती मान्नु पर्ने, तीजमा दिदी बहिनी लिन जानु पर्ने, दशैमा माईति, मावली, शशुराली जानु पर्ने तथा तिहारमा भाइ टीकाका लागि माईत जाने वा दाजुभाइ दिदी बहिनीकोमा जानु पर्ने जस्ता परम्पराले दाजुभाई दिदी बहिनी बीचको सम्बन्धलाई अझै प्रगाढ र सुमधुर तुल्याएका छन्।
ती सुमधुर सम्बन्ध मध्ये भाइटीकामा यी दुई दाजुभाई दिदीबहिनी बीचको सम्बन्धलाई अझै महत्वका साथ हेरिन्छ। हिन्दू धर्म आफैमा प्रकृति प्रेमी पनि छ। यस परम्परा बमोजिम मानिने चाड पर्वहरूले प्राणी जगतलाई पूजा गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेको पाईन्छ। उदाहरणका लागि तिहारको अवधीमा गरिने काग पूजा, गाई गोरूको पूजा, कुकुर पूजा आदिलाई लिन सकिन्छ। तिहार वा भाइ टीकाको शास्त्रिय महत्व पनि छ, जहाॅं मृत्युको रूपमा हिडेका यमराजलाई आफ्नी बहिनी यमुनाले तेलको धाराले छेकी यम पन्चकका ५ दिन पृथ्वीलोकका मानवजातीलाई मृत्युबाट बचाएको किंबदन्ति छ।यहा यमुनाले समस्त दाजु भाइलाई तिहारको बेला सीमित समय सम्म भए पनि बचाएकी छन्, आफ्ना काल रूपि दाजुबाट। यो एउटा उदाहरण हो दिदी बहिनीले दाजुभाइलाई कति महत्व र ममत्व दिदा रहेछन् भन्ने।
कार्तिक शुक्ल पक्षको द्वितीया तिथिका दिन मनाईने भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई कति माया,ममता दिन्छन् भन्ने कुरा सो दिनमा दिदी बहिनीहरूले अपनाउने विधि विधानलाई समेत हेर्नु उपयुक्त हुन्छ। दिदी बहिनीले आफ्ना दाजुभाइलाई मण्डप बनाएर जल र तेलले छेकेर कुनै किसिमको समस्या वा अप्ठ्यारोबाट आफ्ना दाजुभाइलाई जोगाउछन् भन्ने मान्यता छ। त्यसै गरी कटूस वा ओखर फोरेर यमराजको शीरमा कष्ट दिएको संकेत गर्छन्। दिदी बहिनी यति सम्म सजग हुन्छन् कि यो दिन टीका लगाउदा आफ्नो हात दाजुभाइको शिरमा पुर्याउनु पर्छ भनेर दिदी बहिनीले धारिलो वा तीखो धातु जन्य पदार्थ छुनुहुदैन भन्ने मान्यता पनि छ। टीकाको दिनमा आफ्ना मायालु दाजुभाइको कपाल, कान मा तोरीको तेल लगाई दिने, निधारमा सात रंगको टीका लगाईदिने, मखमली र सुपारी फूलको माला लगाईदिने र प्रसाद दिई आशिर्वाद दिने गर्छन् दिदीबहिनीहरू। तिहारमा तेलको धारा, मखमली फूलको आफ्नै महत्व छ, किनभने यी दुवैको स्थायित्व लामो हुने हुनाले दाजुभाइको आयु संग तेलको धारा र मखमली फूलको स्थायित्वलाई जोडिएको पाईन्छ। यसरी दिदी बहिनीबाट टीका र आशिर्वाद लिएर आफूहरूले पनि दिदी बहिनीहरूलाई टीका , माला लगाई दिएर आफ्नो गच्छे अनुसार उपहार दिने गर्छन्।
यो दिनमा आफ्ना सहोदर दिदी बहिनी नहुनेहरूले धर्म दिदी बहिनी बनाएर टीका लगाउने चलन पनि छ। काठमाॅंडौमा पनि आफ्ना दिदीबहिनी नहुनेहरू रानी पोखरी बीचमा रहेको वालगोपालको मन्दिरमा गएर तिहारको टीका लगाउने चलन छ। यो मन्दिर ०७२ सालमा आएको महाभूकम्पबाट क्षतिग्रस्त भै यस पटक मात्र जीर्णोद्धार भै प्रयोगमा आएको छ र यो मन्दिर हरेक साल भाइटीकाको दिनमा मात्र खुल्छ। यसरी भाइ टीकाको महत्व वारे चर्चा गर्दा काम विशेषले विदेशिएका वा वर्तमान संकट कोभिड-१९ का कारण अलग भएका दाजुभाइ दिदी बहिनीहरूको भाइटीकाको पनि चर्चा नगर्दा ळेख अधुरै हुन्छ, त्यसैले त्यस पक्षलाई पनि समेट्ने प्रयास गरिएको छ। भाइटीकाको सन्दर्भ ल्याउदा देउसी भैलोको सन्दर्भ संगै आउछ।
साथीभाइहरूको जमघटमा खेलिने यस पटकको देउसी भैलो कोरोनाका कारण कतिपय स्थानमा खेल्न नपाइने भएको छ। नेपालमा कतिपय जिल्ला प्रशासनले कोरोनाका कारण देउसी भैलो खेल्न नपाउने गरी आदेश जारी गरेका छन् जुन नरमाईलो भए पनि विचारणीय छ ,तर पनि देउसी भैलो ले तिहारलाई रौनक मय बनाछन ।तर बिदेशमा त्यस किसिमको बाताबरण नहुदा तिहार खल्लो हुने गर्छ। तिहार त्यतिखेर झन् खल्लो हुने गर्छ जब भाइटीका भर्चुअल हुने गर्छ।
नेपालमा मानिने तिहार वा भाइटीका प्राकृतिक र स्वभाविक हुन्छ, समय पनि पर्याप्त हुन्छ, दिदीबहिनीहरू संगको भेटघाट पनि सहज हुन्छ, खानपान आदि अर्गानिक हुन्छन्, वातावरण तिहारमय हुन्छ तर विदेश जहाॅं कामको ब्यस्तताले तिहारका दिनहरू नै बिर्सिन सक्छन्, तिहारको वातावरणको कल्पना मात्रै गर्ने हो वास्तविकता त्यस्तो हुदैन, दिदी बहिनीहरूको अभाव रहन्छ, मखमली र तिहारे फूलहरू रहर मै हुन्छन्।
त्यसैले कहिलेकाही लाग्छ कि विदेशमा नेपालका पर्वहरू नआईदिउन्। एउटा घटना छ- एक बहिनी र एक दाजु, दाजु विद्यार्थी भीसामा अमेरिका,भाइटीकामा अन्लाईन टीकाको कार्यक्रम, तिहारमा दाजु बहिनी बीच छुट्टिएर बस्नु पर्दा रूवाबासी र केही बर्ष पछि दाजुको ग्र्याजुएशनमा बहिनी अमेरिका। अनि त्यस पछिका भाइटीका ! यसरी हिन्दू परम्परामा दाजुभाई दिदी बहिनी बीच माया, प्रेम र सद्भावको साटासाट गर्ने परम्परालाई भाइटीकाले निरन्तरता दिएको पाईन्छ । नेपालमा कुनै कुनै समुदायमा दशै समीक्षाको विषय भए पनि भाइटीकालाई दाजु बहिनी, दिदी भाइ बीचको एकता र प्रेमको प्रतीकको रूपमा जीबन्तता दिएको पाईन्छ।