तमु ल्होसार- एक परिचय
ल्हो भनेको वर्ग र छार (सार) भनेको नयां हो गुरूंग भाषामा। यो नेपाली पात्रो अनुसार हरेक पुष महिनाको १५ गते यो पर्व मनाईन्छ। पूर्वीय पात्रोमा जस्तो साल महिना गतेको गणना गरिदैन तमु समुदायको पात्रोमा। तमु समुदायको पात्रो तिब्बत-बर्मेनियन पात्रोमा आधारित हुन्छ र यो पात्रो वमोजिम कुनै ब्यक्ति जन्मदा साल महिना र गते उल्लेख नगरी केवल वर्गको गणना गरिन्छ।यसमा गणना गरिने हरेक वर्ग हरेक वर्षका लागि हुन्छ।
यो पात्रो अनुसार अव आउने वर्ग तो ल्हो (वाघ वर्ग) हो। यो ०७८ पुष १५ गते राती १२ बजे पछि ०७९ पुष १५ गते १२ बजे राती सम्म जन्म हुने जति पनि तमु समुदायको बच्चाहरू हुन्छन् ती सबैको वर्ग एउटै हुन्छ, त्यो हो तो ल्हो। यी वर्गहरू हरेक १२ वर्षमा दोहोरिन्छन्।ब्यक्तिको ग्रह, पूजापाठ, विवाह, छ्योवर जस्ता जे जति कर्म काण्ड गरिन्छ ती सबै यिनै वर्गका आधारमा गरिन्छ। यी वर्गहरू १२ वटा हुन्छन् ती क्रमश: हुन्:- तो ल्हो(वाघ वर्ग), ह्यू ल्हो(बिरालो वर्ग),म्हु प्री ल्हो(गरूड वर्ग),स प्री ल्हो(सर्प वर्ग),त ल्हो(घोडा वर्ग),ल्हु ल्हो( भेडा वर्ग),प्र ल्हो(वांदर वर्ग),च्ह्या ल्हो( चरा वर्ग), खी ल्हो (कुकुर वर्ग), फो ल्हो ( मृग वर्ग), च्ह्यू ल्हो ( मुसा वर्ग ), लों ल्हो ( गाई वर्ग )।
उदाहरणका लागि सामाजिक संस्कारहरू जस्तै विवाह गर्नु पर्दा म्हु प्री ल्हो र स प्री ल्हो भएका वर र कन्याको विवाह नगर्ने चलन हुन्छ। किन भने यी वर्गहरूमा एकले अर्कोलाई नसहने स्वभाव हुने हुदा यिनीहरूको विवाह गरिदैन। यस्तै अन्य विभिन्न संस्कारजन्य कामहरू गर्दा घ्याव्रेहरू( पुरोहित )ले यिनै वर्गका आधारमा गर्ने चलन हुन्छ। तमु जातीहरू प्रकृति प्रेमी हुन्छन् र पशु पंक्षीहरू बचाएर वातावरणलाई दीगो राख्ने काम यो समुदायबाट हुन्छ भन्ने कुरा यिनीहरूले मान्ने वर्गहरूको नाम पशु पंक्षीको नामबाट राखेकोबाट नै स्पष्ट हुन्छ। यी त भए तमु समुदायमा गरिने संस्कार जन्य कामहरू वर्गको आधारमा गरिन्छ भन्ने विषय।
यसका अतिरिक्त पुष १५ को राती १२ बजे पछि वर्गको परिवर्तन समेत हुने हुदा यसलाई तमु ल्होसार (ल्हो छार) वा नयां वर्षको रूपमा मानिन्छ। पहिला पहिला यसै दिनमा स्यू के ( वन भोज ) खाएर मनाईने गरिन्थ्यो र आज पर्यन्त पनि यो परम्परालाई जीवितै राखेको छ यो समुदायले ।आफ्नो कला र संस्कृतिको धनी तमु समुदायले यो दिनलाई नयां वर्षको रूपमा मनाउदै गर्दा विशेष परिकारका साथ तमु वेषभुषामा सजिएर विभिन्न सांस्कृतिक कार्यक्रम गरेर यो पर्व मनाईन्छ।आज कै दिन आफ्ना मान्यजनबाट आशिष लिने चलन पनि यो समुदायमा रहेको छ।
नेपाल सरकारले पनि यो तमु ल्होसारमा सार्वजनिक विदा दिने चलन गरेको छ। खासगरी तमु समुदायको वाहुल्य रहेको गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेश भरी सार्वजनिक विदा दिएर सबै जात जाती र समुदायलाई यो पर्वमा सहभागिता जनाउने अनुकूलता प्रदान गरेको छ। पे म्ह्स्या,छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु,ल्हु म्ह्स्या म्हि म्हमु” शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भने जस्तै तमुहरूले आफ्नो संस्कृतिलाई जीवन्त राख्न देश भित्र मात्र हैन देश बाहिर समेत आफ्नो संस्कृतिलाई फैलाई रहेका छन् र यस्तो संस्कृति र संस्कारको जीवन्तताका लागि भावि पुस्तालाई समेत यसमा सरीक गराएर आफ्नो भाषा, संस्कृति, वेशभूषालाई अक्षुण्ड राखेका छन्।
यति हुदा हुदै पनि तमु भाषाको आफ्नो ब्याकरण र पाठ्य सामग्रीको अभाव हुदा तमु संस्कृतिलाई जीवन्तता राख्न सके जस्तै तमु भाषालाई जीवन्तता दिन गार्हो भएको छ। साधारण बोलीचालीको माध्यमबाट मात्र यसलाई बचाउने प्रयासले गर्दा स्थान अनुसार यसको उच्चारणमा विविधता पाईन्छ। त्यसैले संघीयता भएको हाम्रो देशमा तमु भाषा बचाऊ अभियान गण्डकी प्रदेशबाट आरम्भ गरेर सबै प्रदेशमा तमु भाषा र संस्कृतिमा एकरूपता ल्याउन तमु ल्हो सारले योगदान दिन सकोस्। समस्त तमु समुदायमा तमु ल्हो सारको शुभकामना।