तत्काल खोप आयात गर्न नेपाल भारत मैत्री संघको आग्रह

khabarwave
२९ जेष्ठ २०७८

काठमाडौं । कोरोना कहरले जनजीवन अस्तव्यस्त बनिरहेको बेला नेपाल भारत मैत्रीसंघ प्रदेश नं. १ को आयोजनामा कोभिड १९ चरण चरणको लहरसँगै क्यान्सर विरुद्ध सचेतनामूलक भर्चुअल कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा भारतबाट खरिद प्रक्रियामा रोकिएको १० लाख डोज कोरोना भ्याक्सिन छिटोभन्दा छिटो नेपाल ल्याउन नेपाल सरकारलाई कदम चाल्न आग्रह गरिएको कार्यक्रममा सहजीकरण गरिदिन नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष ओम सरावगीसमक्ष अनुरोध गरिएको थियो ।
नेपाल भारत मैत्रीसंघका प्रदेश नं. १ का अध्यक्ष ईश्वर श्रेष्ठको सभापतित्व सम्पन्न भएको भर्चुअल कार्यक्रमको प्रमुख अतिथ्यता नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष प्रदेश नं. १ प्रदेशसभा सदस्य ओम सरावगीले गर्नुभएको थियो ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर सर्जरी समाजका अध्यक्ष डा. प्रकाशराज न्यौपानेले कोरोना र क्यान्सरबाट कसरी जोगिन सकिन्छ भन्ने बारेमा प्रकाश पानुभएको थियो । सबैजसो रोग खानपान, रहनसहन र शारीरिक व्यायामबाटै नियन्त्रण गर्न सकिने बताउनुभयो । अहिलेको सन्दर्भमा माक्स अनिवार्य लगाउने, भीडभाडबाट जोगिने काम व्यक्त आफैंले गर्नुपर्ने बताउँदै सरकारले लकडाउन भन्दा पनि दीर्घकालिन समाधानका लागि खोप खरिद प्रक्रियामा लाग्न ढिला गर्न नहुने सुझाव दिनुभयो । रोग लागिहाले पनि डराउनु नपर्ने र यसका उपचार विधिहरु भएको बताउँदै कोरोना संक्रमितलाई सताउने अर्को समस्या ब्ल्याक फङ्गल्स (कालो ढुसी) इम्युनिटी पावर कम भएका विरामीहरुलाई देखिने भएकाले यसबाट बच्न आफ्नो इम्युन सिस्टम मजबुद बनाउन उहाँले सल्लाह दिनुभयो । डा. न्यौपाने भरतपुर क्यान्सर अस्पतालका पूर्व अध्यक्ष र भक्तपुर क्यान्सर अस्पतालका पूर्व मेडिकल डाइरेक्टर हुनुहुन्छ । उहाँको समेत सक्रियतामा भक्तपुर क्यान्सर अस्पतालमा सर्जरी डिपार्डमेन्ट सञ्चालनमा आएको थियो ।
भर्चुल कार्यक्रममा नेपाल भारत मैत्री संघका सल्लाहकार केशव अधिकारी, चक्रमान श्रेष्ठ, विशिष्ट सल्लाहकार रतनकुमार तण्डन, केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरुका साथै देशभरिका जिल्ला शाखा, उपशाखाका पदाधिकारी तथा आजिवन सदस्यहरु र पूर्व प्रशासककहरुको पनि सहभागिता रहेको थियो । इञ्जिनियर इन्द्रानन्द शाहको स्वागत मन्तव्यबाट शुरु भएको पहिलो चरणको कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय सदस्य ज्योति न्योपानेले गर्नुभएको थियो । अध्यक्ष सरावगीले आफ्नो सारगर्वित मन्तव्य राख्ने क्रममा अहिलेको समसामयिक विषयमा विज्ञहरुको जमघट गराएर कार्यक्रम आयोजना गरेकोमा प्रदेश नं. १ को प्रसंसा गर्नुभएको थियो ।
दोस्रो चरणको बहस कार्यक्रमको सञ्चालन ईश्वर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा थुप्रै समसामयिक विषय उठान भएको थियो । श्रेष्ठले क्यान्सर उपचारमा प्रयोगभएको कोभाल्ड ६० पुरानो भएर थन्किएको अवस्थामा यसबाट आउने विकरणले कति असर गर्छ भन्ने विषयमा जानकारी दिँदै यसको उचित व्यवस्थापनका लागि सरकारले पहल गर्नुपर्र्ने माग गर्नुभएको थियो । यस्ता मेसिनहरु भरतपुर क्यान्सर अस्प्ताल, बीर अस्पताल, भक्तपुर अस्पतालमा थन्किएर रहेका छन् । नेपाल भारत मैत्री समाज प्रदेश नं. १ का अध्यक्ष श्रेष्ठले खरिद प्रक्रियामा रोकिएको १० लाख डोज कोरोना भ्याक्सिनको आयातमा सहजिकरण गरिदिन नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष ओम सरावगीलाई अनुरोध गर्नुभयो भने सरकारले समेत जनताको जीवन बचाउने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
अन्त्यमा कार्यक्रमको सभापतित्व गर्नुभएका अध्यक्ष ईश्वर श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिँदै यस्ता चेतनामूलक कार्यक्रम फरक फरक विषयका बहस गरेर जनचेतना बढाउन सक्रिय हुनुपर्ने बताउनुभएको थियो ।

Loading spinner