महानगरपालिकाले मंसिर २ पछि बन्द गरायाे खुलामञ्चमा निःशुल्क खाना खुवाउने कार्यक्रम
काठमाडौँ । खुलामञ्चमा निःशुल्क खाना खुवाउने कार्य तिहारको भाइटीकाको भोलिपल्टबाट बन्द हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगर र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच आज छलफल गरी यस्तो सहमति भएको बताइएकाे छ ।सहमतिअनुसार खुलामञ्चलगायतका स्थानमा खाना खुवाउँदै आएका संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ । ‘खुल्लामञ्चलगायतका सार्वजनिक खुला स्थानमा खाना खुवाउने कार्य बन्द गरी अन्य बन्द संरचना भित्र खाना खुवाउने प्रवन्ध मिलाउने,’ सहमतिपत्रमा भनिएको छ,’ ‘यसका लागि खाना खुवाउँदै आउनु भएका संघ–संस्था वा अभियन्ताहरुले २०७७ को भाइटीकाको दिनसम्म बैकल्पिक व्यवस्था गरी काठमाडौँ महानगरपालिका तथा सम्वद्ध वडाको समन्वयमा आवश्यक व्यवस्था मिलाउने ।’
सहमतिमै भाइटीकाको भोलिपल्टबाट खुलामञ्चको भोजन सेवा पूर्णरुपमा बन्द गर्ने र खुला मञ्चको सट्टा बैकल्पिक स्थान आवश्यक परे त्यस्ता बन्द स्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाको सहयोग एवं समन्वयमा गर्ने उल्लेख छ ।
सम्झौतापत्रमा हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एशोसियशन, लायन्स क्लव अफ काठमाडौँ न्यु ग्रिन सिटी, हाम्रो सानो प्रयास, हाम्रो सानो टिम नेपाल, गसिव क्वीन नेपाल, १०० ग्रुपलगयतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि काठमाडौँ महानगरपालिका मानवीय सेवाका निरन्तर लागेको स्मरण गराएका छन् ।