खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरु हुन सक्ने भन्दै विभागले गरायाे ध्यानाकर्षण
काठमाडौँ । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ ।
देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खासगरी पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेका सङ्घीय राजधानी काठमाडौँलगायतका सहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरुप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ ।तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ ।
आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ ।यस वर्ष नेपालमा पोष्ट(मनसुन सिजनमा अधिकांश स्थानमा सरदर भन्दा धेरै कम वर्षा भएको र गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा भएको तथ्याङ्क छ ।विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरु हुन सक्ने विषयमा ध्यानाकर्षण गराइसकेको जनाएको छ ।