कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु-प्रवक्ता नारायणकाजी श्रेष्ठ

khabarwave
२६ मंसिर २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विवाद बाहिरिएको हो ।

लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता श्रेष्ठको नाम मुछिएको उल्लेख गरेको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ ।

लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् । प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताए । ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ,’ उनले भने । प्रवक्ता श्रेष्ठले लामाको निधनको दुःखद खबरबाट आफू मर्माहत भएको उल्लेख गरेका छन् । नयाँ पत्रिकाबाट

Loading spinner