उद्योगमन्त्रीको अग्रसरतामा उच्चस्तरीय छलफल,अधिकार प्रत्यायोजन र छाता ऐन ल्याउन सबै सहमत

khabarwave
२६ भाद्र २०७७

काठमाडौं । उद्योग विभाग मातहत रहेको एकल बिन्दू सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ, भन्ने सन्दर्भमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको छ । उद्योगमन्त्री लेखराज भट्टको अध्यक्षतामा बिहीबार भएको लामो छलफलमा एकल बिन्दू सेवा एकाईलाई प्रभावकारी बनाउने सन्दर्भमा तत्कालिन, मध्यकालिन र दीर्घकालिन रणनीति बनाएर अघि बढ्ने निश्कर्ष निकालिएको छ । उद्योग विभागका प्रवक्ता विनोद खड्काका अनुसार तत्कालिन रुपमा उद्योग मन्त्रालयमार्फत् एकल बिन्दू एकाई केन्द्रमा प्रतिनिधित्व गरेका निकायहरुलाई अधिकार प्रत्यायोजनका लागि पत्राचार गरिनेछ ।

सो कुरामा छलफलमा सहभागी प्रतिनिधिहरु सहमत भएका छन् । त्यस्तै मध्यकालिन रुपमा विषयगत मन्त्रालयहरुले विद्यमान ऐनलाई सुधार र परिमार्जन गरिनेछ । भने, दीर्घकालिन रुपमा छुट्टै छाता ऐन ल्याउनका लागि भूमिका खेलिने भएको छ । विभागका महानिर्देशक जीवराज भुसाललगायत विभागका सबै निर्देशकहरु सम्मिलित कार्यदलले छलफलमा उठेका विषय र निस्केको निचोडका आधारमा कार्यान्वयनका लागि थप कदम अगाडि बढाउने भएको छ । छलफलमा विभागका उपसचिव भक्तराज जोशी, उपसचिव ज्ञानेन्द्र पराजुली र शाखा अधिकृत विनोद पौडेल सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन र सोही प्रतिवेदनका आधारमा महानिर्देशक भुसालसहित निर्देशकहरुले मन्त्रालयमा दिएको सुझावका बारेमा गहन छलफल भएको थियो ।

मन्त्री भट्टले सचिवद्वय चन्द्र घिमिरे र बैकुण्ठ अर्याललाई साक्षी राखेर विभाग र सरोकारवाला मन्त्रालयहरुलाई छलफलमा उठेका निश्कर्षलाई कार्यान्वयन गरी एकल बिन्दू सेवा एकाईलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए । छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, लगानीबोर्डका सिइओ डा. सुशील भट्ट, ऊर्जासचिव विनोद घिमिरे, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, गृहमन्त्रालयका सहसचिव ढुण्डि निरौला, अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसी, अर्थमन्त्रालयका सहसचिव यमलाल भुसाल, भूमिव्यवस्था मन्त्रालयका सहसचिव जनकराज जोशी लगायतले मन्त्रालयले एकल बिन्दू सेवा एकाईलाई प्रभावकारी बनाउन गरेको छलफल उद्योग विभागको अगुवाईमा तयार पारेको प्रतिवेदनका बारेमा प्रसंसा गर्दै एकल बिन्दू सेवालाई प्रभावकारी बनाउन सके लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न कुनै कानुनी व्यवधान र झन्झट नहुने हुँदा आफ्ना निकायहरुबाट यसलाई सुधार गर्नका लागि र छलफलमा निस्केको निश्कर्ष इमान्दारितापूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

स्मरणीय छ, विभागको महानिर्देशकमा जीवलाल भुसाल नियुक्त भएपछि उपसचिवहरु भक्तराज जोशी, ज्ञानेन्द्र पराजुली, शाखा अधिकृत विनोदकुमार पौडेल सम्मिलित कार्यदल बनाएका थिए । सो कार्यदलले दिएको प्रतिवेदन विभागमा गहन छलफल भएपछि उद्योग मन्त्री र सचिवद्वय समक्ष पेश गरिएको थियो ।

Loading spinner