आपूर्ति मन्त्रालय भन्छ-उखु किसानलाई ८ करोड रकम भुक्तानी गर्न बाँकी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको जनाएकाे छ । उसले ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु आठ करोड एक लाख बाँकी रहेको जनाएको हाे।
मन्त्रालयका अनुसार रु ३५ करोड बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ ।मन्त्रालयको तथ्याङ्कअनुसार रु १७ करोड बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले रु दश करोड ८८ लाख बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ ।
यसैगरी चार करोड ७० लाख बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा एक करोड ५० लाख जम्मा भएको देखिए पनि भुक्तानी शुरु गरेको छैन । लुम्बिनी सुगर मिलले रु आठ करोड ४१ लाख बक्यौता रकम मध्येमा हालसम्म रु पाँच करोड १६ लाख बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ । उक्त मिलको खातामा रहेको रु तीन करोड रकम रोक्का राखिएको छ ।