
अख्तियारद्वारा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराज नगरपालिकाको नगरभित्र वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना प्रकरणमा नगरपालिकाका सवइन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।सडकको दायाँ-बायाँ किनारमा वृक्षारोपण गर्न निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम अनियमितता गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
नगर कार्यपालिकाका सवइन्जिनियर सत्यजीवकुमार सिंह, तत्कालीन अनुगमन तथा मूल्यांकन अधिकृत शीतल रिमाल र सूचना तिमल्सिना, आरके इन्जिनियरिङ कन्सल्टेन्टका प्रोप्राइटर टुनालाल कर्ण, सेभ द नेपाल राजविराजका अध्यक्ष घनश्याम झा र सेभ द नेपाल, राजविराजका कोषाध्यक्ष ललितनारायण झाविरूद्ध अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।